मुस्लिम धर्मावलम्बीहरु बकर इद मनाईंदै
SamacharDesk | २०८१ आषाढ ४, सोमबार

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ ।
बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दसौं दिन मनाउने गरिन्छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ ।
हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
आजको दिन जामे मस्जिदमा नमाज पढिसकेपछि धर्मले जायज मानेका जनावरलाई कुर्बानी अर्थात् बली दिने प्रचलन रहेको छ । कुर्बानीको मासु तीन भागमा बाड्ने चलन छ ।
एक भाग गरिव, एक भाग इष्टमित्र र अर्को भाग आफूले राख्ने परम्परा रहि आएको छ । मुस्लिम धर्मावलम्बीले बुधबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ ।
यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदले जनाएको छ।
यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
Categorized in राष्ट्रिय