arin enterprises

आदिवासी चलचित्रको कथावस्तु सम्वन्धि कार्यशाला सुरु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ आषाढ ११, सोमबार

‘आदिवासी जनजाति चलचित्रको लागि कथावस्तु छनौट’ विषयक कार्यशाला गोष्ठी ललितपुरमा सुरु भएको छ ।

नेवाः फिल्म सोसाइटीको आयोजनामा चार दिने कार्यशाला गोष्ठी आइतबार (असार ९) बाट सुरु भएको हो ।

आइतबार ललितपुरको सुन्धारामा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राईले गोष्ठीको समुद्घाटन गरे ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष राईले नेपालको मातृभाषी चलचित्रको सुरुवात नेपालभाषाको चलचित्र ‘सिलु’ बाट भएको स्मरण गर्दै आदिवासी जनजाति चलचित्रको उत्थानको लागि नेवार समुदायकै भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिए ।

‘नेवार समुदाय नउठी केही परिवर्तन हुन्न भन्ने उदाहरण हालै गुठी विधेयकविरुद्धको आन्दोलनले पनि प्रमाणित गरिसक्यो । अब मातृभाषी फिल्म क्षेत्रको उत्थानको लागि पनि नेवार समुदाय जुर्मुराउनुपर्छ । नेवार समुदाय नउठी हाम्रो क्षेत्रको विकास गार्हो होला’ अध्यक्ष राईले भने ।

त्यस्तै वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले मातृभाषी फिल्मकर्मीहरुले नाफा वा कुनै आर्थिक लाभको आशा नगरी समुदाय र मातृभाषाको उत्थानकै लागि मातृभाषी फिल्म क्षेत्रमा लागिरहेको बताए ।

‘मातृभाषी चलचित्रकर्मीले फिल्म बनाएर पैसा कमाउने, घर बनाउने आशा त गरेको छैन । मातृभाषा र समुदायको पहिचान स्थापित गर्न लागिपरेका मातृभाषी चलचित्रकर्मीलाई राज्यले संरक्षण गर्न आवश्यक छ’ तुलाधरले भने ।

नेवाः फिल्म सोसाइटीका अध्यक्ष बिराजकाजी राजोपाध्याले चलचित्रलाई कथावस्तुले नै आदिवासी जनजाति चलचित्र बनाउनेमा जोड दिँदै जनजाति चलचित्र बनाउन भाषा, पहिरन र लोकेसनमा मात्र ध्यान दिएर नपुग्ने बताए ।

त्यस्तै फिल्म सोसाइटीका निवर्तमान अध्यक्ष लुःजः सिंहले विचार विमर्शबाट नयाँ विचारको उत्पादन गर्दै नेपालभाषाको चलचित्र उत्थानको लागि नेवाः फिल्म सोसाइटी प्रयासरत रहेको बताए ।

असार ९ गते आइतबारबाट सुरु भएको कार्यशाला गोष्ठी आउँदो असार १२ गते बुधबार सम्पन्न हुनेछ ।

कार्यशाला गोष्ठीको पहिलो दिन पेजथ्री पाक्षिकका सम्पादक, सर्ट फिल्म निर्देशक साथै स्क्रीप्ट लेखक दर्शनबीर शाक्यले आदिवासी जनजाति विषयवस्तुमा स्क्रीप्ट लेख्दा ध्यान दिनुपर्ने पक्षहरुमा प्रकाश पार्दै आफ्नो प्रस्तुति दिएका थिए ।

Categorized in पेजथ्री