नेवाः फ्युजन गीत “यःमरि च्वामु” सार्वजनिक
SamacharDesk – बिजयरत्न | २०८१ आषाढ १७, आइतबार

संगीतकर्मी राजन राज शिवाकोटीको नेवाः फ्यूजन गीत “यःमरि च्वामु” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शिवाकोटीकै रचना र संगीत रहेको गीतको म्यूजिक भिडियो गत शुक्रबार एक कार्यक्रमको बीच सार्वजनिक गरिएको हो ।
काठमाडौंको टेकु दोभानस्थित राणाकालीन तीन देवल परिसरमा भएको समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले म्यूजिक सार्वजनिक गरे ।
समारोहमा बोल्दै वरिष्ठ कलाकार श्रेष्ठले गायिका महर्जनको प्रतिभा प्रशंसा गर्दै संगीतकर्मी सिवाकोटीसँगको युगल गायनले संगीत क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
सार्वजनिक गरिएको म्यूजिक भिडियोको समीक्षा गर्दै वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर असंबरेले यस भिडियोमा नेवाः संस्कृतिमा महत्वपुर्ण स्थान रहेको परिकार यःमरिलाई भिडियोमा सुन्दर ढङ्गबाट प्रस्तुत गरिएको विचार राखे ।
आयोजकका तर्फबाट अभिनेत्री हिसिला महर्जन, प्रस्तोता अशोक कुमार माली, संगीतकर्मी गायक सिवाकोटी, भिडियो निर्देेशक देवकुमार श्रेष्ठलगायतले सार्वजनिक गरिएको गीत र म्यूजिक भिडियोबारे आआफ्नो कुरा राखेका थिए ।
ए. एन्ड एम. प्रोडक्शनको ब्यानरमा निर्माण भएको म्युजिक भिडियोमा अशोक कुमार माली, तिमिला गोपालीलगायत थुप्रै कलाकारहरुले अभिनय गरेका छन् ।
म्यूजिक भिडियोमा कोरियोग्राफि राजन शाहीको रहेको छ भने छायांकन, दृश्य सम्पादन र कलर ग्रेडिङ सोहन मानन्धरले गरेका छन् ।
युगल गीतमा शिवाकोटीलाई नेपालभाषा संगीत क्षेत्रको लोकप्रिय गायिका रत्नशोभा महर्जनले साथ दिएकी छिन् ।
नेपाली र नेपालभाषा मिसाएर फ्युजनको रुपमा तयार गरिएको गीतलाई साहित्यकार रजनीमिलाले नेपालभाषामा अनुवाद गरेकी हुन् ।
Categorized in पेजथ्री