समुदायकै मौलिक कथावस्तुमा चलचित्र बनाउन आग्रह
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ आषाढ १८, सोमबार

आदिवासी जनजाति समुदायले आफ्नै समुदायको मौलिक कथावस्तुमा चलचित्र निर्माण गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् ।
नेवाः फिल्म सोसाइटीबाट गत असार ९ गतेबाट १२ गतेसम्म संचालित चार दिने ‘आदिवासी जनजाति चलचित्रको कथावस्तु छनौट’ विषयक कार्यशाला गोष्ठीको समापन समारोहका वक्ताहरुले यस्तो आग्रह गरेका हुन् ।
कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राईले नेवाः समुदायको मौलिक कथावस्तुमा स्तरीय चलचित्र निर्माण हुनुका साथै समुदायको आवाज राज्यसम्म पुर्याउने माध्यम पनि हुनेमा जोड दिए ।
‘नेवाः समुदाय भाषा, कला, संस्कृति जस्ता विषयमा धनी छ, माैलिक कथावस्तुमा चलचित्र निर्माण गरिए समग्र क्षेत्र पनि उकासिनेछ । चलचित्रकै माध्यमबाट आफ्नो हक अधिकारको आवाज पनि बुलन्द गर्न सकिन्छ’ महासंघका अध्यक्ष राईको भनाई हो ।
चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक ज्योति राज राईले नेवाः समाजमा चलचित्रको लागि कथावस्तुहरु अल्याख संख्यामा खाँदिएर बसेको विचार राखे ।
‘नेवाः समाजसँग त चलचित्रको लागि असंख्य कथावस्तुहरु एक ठाउँमा खाँदिएर बसेको छ । त्यहि थुप्रोमा कुनै एउटा सामग्रीको सानो टुक्रा मात्र निकाले पुग्छ । बुझ्नु मात्र पर्यो, हेर्न मात्र सक्नुपर्यो’ समितिका संयोजक राईले भने ।
महासंघको संघीय परिषद सदस्य साथै बोर्डको अन्तर्गतको समितिको समेत सदस्य रहेकी सगीना स्राइन सुनुवारले महासंघ र समितिबाट हुँदै आएका कार्यक्रम र भावनी योजनाबारे जानकारी गराइन् ।
सबै जना एकजुट भई आदिवासी जनजाति चलचित्र क्षेत्रको उत्थानको लागि अघि बढ्न पनि सुनुवारले आग्रह गरिन् ।
कार्यशालाका श्रोत व्यक्तिद्वय विजयरत्न तुलाधर र आर्यम नकःमिले कार्यशालाबाट सिकेको, पाएको ज्ञानलाई व्यवहारमा उतार्न कार्यशालाका सहभागीहरुलाई आग्रह गरे ।
फिल्म सोसाइटीका अध्यक्ष बिराजकाजी राजोपाध्याय र निवर्तमान अध्यक्ष लुःजः सिंहले नेवाः चलचित्रको स्तर उकास्न र आदिवासी जनजाति चलचित्र क्षेत्रको आवाज राज्य तहसम्म पुर्याउन सोसाइटी क्रियाशील रहिरहने प्रतिवद्धता व्यक्त गरे ।
सहभागीहरुका तर्फबाट कलाकारद्वय श्यामसुन्दर शिल्पकार र मन्जु श्रेष्ठले आफ्ना अनुभव सुनाएका थिए ।
कार्यक्रममा कार्यशालाका सहभागी र श्रोत व्यक्तिहरुलाई महासंघका अध्यक्ष राईले प्रमाण पत्र प्रदान गरे ।
चारदिने कार्यशालामा कलाकारद्वय शिल्पकार र श्रेष्ठको साथमा नेवाः चलचित्र क्षेत्रका सक्रिय कलाकारहरु सुरज ब्यन्जनकार, संयुक्त स्थापित, सुनिता श्रेष्ठ, सिताराम माकः लगायतको समेत सहभागीता रहेको थियो ।
Categorized in पेजथ्री