आज पनि यस जात्रामा बोलाइन्छ मल्ल राजालाई
SamacharDesk – बिराज | २०८१ श्रावण ६, आइतबार

देशमा राजतन्त्रको अन्त्य भई गणतन्त्र आएको पनि दुई दशक हुन आँटिसक्यो । देशमा अब राजतन्त्र वा राजा छैन ।
तर पाटनको एउटा जात्रामा आज पनि मल्ल राजाको महत्त्वपूर्ण स्थान बाँकि नै छ । पाटनका मल्ल राजालाई जात्रामा बोलाउने परम्परा पाटनमा आजसम्म पनि निरन्तर छ ।
कुरा हो, पाटनको नृसिंह जात्रा (उपाकलं सायाः) को । पाटनका देव ब्राह्मण राजोपाध्यायहरुको उपाकर्म गुठीबाट हरेक वर्ष भाद्र कृष्ण पंचमीको दिनमा चलाइने नृसिंह जात्रामा मल्ल राजालाई पनि बोलाउने गरिन्छ ।
पाटनको षटकुलका राजोपाध्याय देव ब्राह्मणहरुको उपाकर्म गुठीबाट गुठीका सदस्यहरुबीच ज्येष्ठताको आधारमा पालो दिइ हरेक वर्ष जात्रा चलाउने गरिन्छ ।
राजोपाध्याय देव ब्राह्मणहरुको सबैभन्दा ठुलो कर्म उपाकर्मलाई पूर्णता दिने परम्पराको रुपमा लिइएको यस जात्राको साथै जनै पूर्णिमाको दिन श्रावणी कर्ममा सहभागी हुनको लागि पाटनका मल्ल राजालाई गुरु पुर्णिमाको दिनमा निमन्त्रणा दिन जाने गरिन्छ ।
यसै क्रममा आज पाटन दरवारको सुन्दरी चोकमा उक्त परम्परा सम्पन्न भएको छ । परम्पराको निरन्तरताको क्रममा यस वर्षको जात्रा पालोवाला स्वर्गीय नृपेन्द्र राज शर्माका जेष्ठ सुपुत्र त्रिलोचन शर्माले मल्ल राजालाई निमन्त्रणा दिए ।
राजालाई निमन्त्रणा स्वरुप दिइने फुलको साथमा सुपारी, जनै, पैसा र फलफुल सुन्दरीचोकमा अवस्थित ढुङ्गाको खाटमा राखिएको थियो ।
मल्ल राजाको प्रतिनिधिको रुपमा गुठी संस्थान पाटनका प्रमुख वैकुण्ठ आचार्य, पाटन म्यूजियमका प्रमुख सुरेश लाखे लगायत उपस्थित भएर निमन्त्रणा ग्रहण गरेका थिए ।
ललितपुरको षटकुल अर्थात ६ वटा कुलका देव ब्राम्हणका प्रतिनिधिहरु सुन्दरी चोकमा भेला भइ स्वस्तिवाचनसमेत गर्दै निमन्त्रणाको रुपमा पुष्पार्पण गरेका थिए ।
सो अवसरमा उपाकर्म गुठी व्यवस्थापन समिति, नृसिंह जात्रा व्यवस्थापन समितिका पदाधिकारी, सदस्य, गुठी संस्थान पाटनका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
आजै नृसिंह जात्रा अवलोकन गर्न आउनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई समेत निमन्त्रणा दिइएको छ ।
पालोवालाका तर्फबाट त्रिलोचन शर्मा राजोपाध्याय, उपाकर्म गुठी व्यवस्थापन समिति, नृसिंह जात्रा व्यवस्थापन समितिका पदाधिकारी, सदस्यहरु शितल निवास पुगी राष्ट्रपति पौडेललाई निमन्त्रणा स्वरुप पुष्पार्पण गरिएको थियो ।
के हो नृसिंह जात्राः
ललितपुर नगरीमा षटकुल राजोपाध्याय देब ब्राह्मणहरुको उपाकर्म गुठीबाट वर्षेनी भाद्र कृष्ण पंचमीका दिन नृसिंह जात्रा चलाउने गरिएको छ । स्थानीय भाषामा यस जात्रालाई उपाकलं सायाः भन्ने गरिएको छ ।
गुठीको सदस्यहरुबीच ज्येष्ठताको आधारमा जात्रा चलाउन पालो दिइन्छ । पालोवालाले गुरु पुर्णिमाको दिनमा मल्ल राजालाई जात्रा र श्रावणी कर्मको निमन्त्रणा दिनुका साथै भाद्र कृष्ण पंचमीका दिनमा जात्रा चलाई सम्पन्न गर्ने गर्दछन् ।
यस जात्राको नृसिंहलाई हिरण्यकश्यपुको वध गर्न आएका उग्र रुपकानभई, हिरण्यकश्यपुको वध गरिसकेर शान्त भइसकेका नृसिंहको रुपमा लिइन्छ ।
यिनको दायाँबायाँ लक्ष्मी र सरस्वती हुन्छन् भने यिनका अगाडी नृसिंहतिर फर्केर प्रह्लाद उल्टो दिशाबाट हिँड्ने गर्छन् ।
त्यस भन्दा पनि अघि अप्सराहरु दुई दुई जनाको ६ जोडी हिँडिरहेको हुन्छ । अप्सराहरुको हातमा कुचो, गाईको दुध, दण्ड, पंखा, चमर आदि रहेको हुन्छ ।
साथै नृसिंहको पछाडी कपडाको पुतलीहरु दुईवटा पनि बाँधिएको हुन्छ । यी पुतलीहरुलाई हिरण्यकश्यपु र हिरण्याक्ष्य पनि भन्ने गरिएको छ भने मधुकैटभ पनि भन्ने गरिन्छ ।
यी पुतलीहरु बालबालिकालाई ढोग्न दिएमा बालबालिकालाई रुन्चे नलाग्ने धार्मिक विश्वास रहेको छ ।
त्यस्तै आफ्नो परिवारमा दिवंगत भएकाको नाममा नृसिंहको पूजा गरेमा दिवंगत आत्माले सद्गति प्राप्त गर्ने विश्वास पनि रहेको छ । यस वर्षको जात्रा आउँदो भाद्र ८ गते शनिबारका दिन हुन गइरहेको छ ।
Categorized in संस्कृति