म्यानमारबाट २६ जना नेपाली काठमाडौं फर्किए, विदेशमा रहेकाको उद्धार शुरु
SamacharDesk – विकाश | २०७७ जेठ २३, शुक्रबार

सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्य आजबाट सुरु गरेको छ ।
विदेशमा रहेका नेपालीको अवस्था अनुसार विभिन्न चरणमा उद्धार गर्ने भनिए अनुसार आज पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका हुन् ।
म्यानमार सेनाको एयरफोर्सले उनीहरुलाई काठमाडौं पुर्याइदिएको बताइएको हो ।
काठमाडौं आइपुगेका उनीहरुलाई हाल काठमाडौंको बसुन्धरास्थित यती पार्टी प्यालेसमा बनाइएको होल्डिङ सेन्टरमा राखिएको छ ।
बढिमा एक रात होल्डिङ सेन्टरमा राखेर उनीहरुलाई होम क्वारेन्टाइनमा पठाइने छ ।
म्यानमारबाट आएका सबैको कोरोना संक्रमणको पीसीआर रिपोर्ट नेगेटिभ भएकोले होम क्वारेन्टाइनमा पठाउन लागिएको हो ।
उनीहरुलाई नेपाली सेनाले होल्डिङ सेन्टरसम्म लगेर होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउनेछ ।
त्यस अघि, सेनाले उनीहरुको स्वास्थ्यको साथमा आवश्यक व्यक्तिगत विवरण भने संलकन गर्नेछ ।
सबैको गतिविधिको जानकारी राख्नको लागि नेपाल टेलिकमले उनीहरुलाई निःशुल्क सीम कार्ड वितरण गर्ने बताएको छ ।
आजै यूएईबाट पनि एक सय ६८ जनालाई ल्याउने तयारी रहेको थियो । तर, प्राविधिक समस्याका कारण यूएईबाट विमान समयमा उड्न नसकेको श्रोतले बताएको छ ।
विदेशबाट आउने नेपालीहरुलाई राख्नको लागि उपत्यकाका विभिन्न पार्टी प्यालेसहरुमा होल्डिङ सेन्टर तोकिएको छ ।
Categorized in राष्ट्रिय