थप २७८ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या ३ हजार नजिक
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ जेठ २३, शुक्रबार

नेपालमा थप २ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न ११ वटा प्रयोगशालामा गरिएको स्वाबको पिसिआर परिक्षणमा २७८ जनामा संक्रमण देखिएको जनाएको छ ।
आज संक्रमण पुष्टि हुनेमा २ सय ६७ जना पुरुष रहेका छन् भने ११ जना महिला छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २ हजार ९ सय १२ पुगेको छ । तीमध्ये २ हजार ७ सय १७ जना पुरुष र एक सय ९५ जना महिला छन् ।
प्रदेश १ का १२ जिल्लामा २ सय ४२ जनालाई संक्रमण भएको छ भने प्रदेश २ का सबै ८ वटै जिल्लामा संक्रमित संख्या ९ सय ९३ पुगेको छ ।
बागमति प्रदेशका १२ जिल्लामा ८५ जना, गण्डकी प्रदेशमा ९ जिल्लामा ५७, प्रदेश ५ का ११ जिल्लामा ९ सय ६५, कर्णाली प्रदेशका ७ जिल्लामा ४ सय ७९ र सुदुरपश्चिम प्रदेशका सबै ९ वटै जिल्लामा ९१ जना संक्रमित भइसके ।
आज गण्डकी प्रदेशमा गोरखा र कास्की अनि कर्णालीमा हुम्ला थप भएसँगै देशका ६८ जिल्ला संक्रमणबाट प्रभावित भएको छ ।
कुल ३ सय ३३ जना कोभिड १९ संक्रमण निको भएर घर फर्केका छन् । पछिल्लो पटक विभिन्न अस्पतालबाट ४३ जना डिस्चार्ज भएर घर फर्केका छन् ।
कोभिड १९ संक्रमित मृत्यु संख्या भने ११ पुगेको छ । गत २२ गते निधन भएका सुर्खेत पंचपुरीका २८ वर्षीय पुरुषको पिसिआर परिक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले आज पुष्टि गरेको छ ।
आजसम्मको विवरण अनुसार देशका विभिन्न २१ वटा प्रयोगशालाबाट पिसिआर विधिबाट ८८ हजार ३ स ६६ र आरडिटि विधिबाट १ लाख ३२ हजार ९ सय ६६ वटा परिक्षण भएका छन् ।पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ४ हजार २ सय ३२ र आरडिटी विधिबाट ७ हजार ४ सय २ वटा परिक्षण भएका छन् ।
देशका विभिन्न भागमा कुल १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा बसिरहेका छन् भने २ हजार ५ सय ६८ जना आइसोलेसनमा उपचाररत छन् ।
