arin enterprises

गुँला पर्व : बौद्ध धर्मावलम्बीहरुको विशेष पर्व

SamacharDesk – राम डंगोल | २०८१ श्रावण २१, सोमबार

चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म चल्ने गुँला पर्व आजबाट सुरु भएको छ ।

विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने गुँला पर्व धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गरिन्छ । पर्वको अवसरमा विशेषगरी स्वयम्भू महाचैत्य, बौद्ध चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिन्छ ।

दाफा, धाः, बाँसुरी, धिम, भुस्यालगायत नौ बाजा, राँगाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा बजाउने प्रचलन छ ।

नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ । यस पर्वका अवसरमा सक्नेले दशशील, नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले कम्तीमा पनि पञ्चशील पालना गर्नेगर्दछ ।

पञ्चशील सबैले सधैँ पालना गर्नुपर्छ भन्ने नियम छ  । पञ्चशीलमा प्राणी हिंसा नगर्ने, कसैले नदिइ केही पनि नलिने, काम मिथ्याचार नगर्ने अर्थात् श्रीमान् र श्रीमतीबीच मात्र शारीरिक सम्पर्क गर्ने, झुटो कुरा नबोल्ने, लागुपदार्थ एवं मद्यपान नगर्ने पर्छन् ।

यो महिनामा क्षमताअनुसार भित्री मनदेखि दान दिने गरिन्छ । राजधानी सहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा भीड लाग्छ ।

वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदी अर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन् । साथै मध्यपुर ठिमीमा पनि न्याकुबाजा नामक अर्नाको सिङको बाजा र चित बाजा नामक भेडाको सिङको बाजा बजाइन्छ।

गुँलाबाजं खलः स्वयम्भू जाने चलन लिच्छविकालीन राजा हर्षदेवको शासनकाल ने।सं २०४–२१८ बाट सुरु भएको अनुमान यहाँ एक महिनासम्म राजा हर्षदेवद्वारा रचना गरिएको दशवलास्तव स्रोत सांगितात्मक रूपमा चलाउँदै आएको कुराले पुष्टि हुन्छ।

  

गुँला पर्व भगवान् बुद्धसँग जोडिएको प्रसंग    

यस गुँला महिनामा गुँला पर्व नेवास् समुदायमा विशेष रूपमा अनि काठमाडौँ उपत्यका लगायत अन्य केही नेवा: समुदायको बाहुल्यता भएका ठाउँमा मनाइन्छ ।

नेवा: समुदायका बौद्धमार्गी परिवारमा यस पर्वको उल्लास अझ बढी आत्मिक अनि चिन्तनगत रूपमा रहेको पाइन्छ, भगवान् बुद्ध अनि वहाँका अनुयायीहरू दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा बर्खाका समयमा यात्रा नगरी एकै ठाउँमा बस्ने भएकाले यस पर्वलाई बर्खा अनि ज्ञानको एउटा सङ्गम पनि मानिने गरिन्छ ।

विशेष गरी नेवार समुदायले मनाउने गुँला पर्वमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ ।

श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना गुँला पर्वमा परम्परागत बाजागाजासहित स्वयम्भू तथा चैत्यहरुको दर्शन गर्नुको साथै आजदेखि विभिन्न वहालहरुमा दिपंवकर बुद्धहरुको प्रदर्शन गर्ने गरिन्छ ।

जसलाई नेपाल भाषाबाट बहीद्यः ब्वयेगु भनिन्छ । यसका साथै यो एक महिनाभर विभिन्न फरक फरक तरिकाले मनाउने गरिन्छ ।   

बहीद्यः स्वःवनेगु  

गुँला पर्वका अवसरमा आज काठमाडौँ उपत्यकाका चोक चौराहहरुमा विशेष गुंला सङ्गीतको श्रवण गर्न सकिन्छ भने विभिन्न गुम्बा, मन्दिर अनि आत्मिक स्थलमा भक्तजनको आवागमन धेरै रहन्छ ।

बहीद्यः स्वःवनेगु नेवास् सस्कृतीको अनन्य पाटो हो जहाँ अघिअघि बाजा अनि सङ्गीत अनि पछि पछि भक्तजनहरू हुन्छन्, आजका दिनमा यस्ता झाँकीहरू प्रशस्तै देख्न सकिन्छ, काठमाडौँ उपत्यकामा ।

द्यः थायेगु आजको विशेष क्रियाकलापमा पर्दछ, आज कालो माटोलाई प्रयोग गरेर कालो काँचो माटोले ससाना स्तुपा बनाउने चलन रहन्छ ।

काठमाडौँ र ललितपुरमा पन्जारा अर्थात बुद्ध लगायत अन्य साधु सन्तको प्रतिमा अनि भगवानको प्रतिनिधित्व गर्ने खटलाई सहरमा घुमाउने अनि चामल लगायतका बस्तु जम्मा गर्ने चलन पनि छ ।

बौद्ध मार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन हो जहाँ दान अनि शान्ति लगायत आत्मिक चिन्तनलाई धेरै महत्त्व दिने गरिन्छ । यस्तै यो महिनामा इटुम्बहालमा पनि दिपंकर र केश्चान्द्र आजुलाई विराजमान गराइन्छ।

यस पर्व काठमाडौँ बाहिर पनि विभिन्न तरिकाले मनाइन्छ, काठमाडौँ उपत्यका बाहिर दोलखामा भने यो पर्व हिलो जात्रा नाम गरी कृष्ण जन्म अष्टमी सम्म मनाइन्छ।

चावहिलमा परम्परागत बाजासहित चन्द्रविनायकको परिक्रमा    

काठमाडौँ महानगरपालिका वडा नं ७ चाबहिल स्थित चन्द्रविनाक मन्दिरमा पनि गुँला पर्व मनाउने गरिन्छ स्थानीयहरुले धिमे बाजा, बाँसुरी, पछिमा बजाएर मन्दिर घुमी एक महिनासम्म गुँला पर्व मनाउने गरिन्छ ।

झरीले रोगव्याध लगायतको आक्रमण गर्ने भएकाले मन्दिर घुमी प्रार्थना गर्दा शरीर स्वस्थ हुने जनविश्वासका साथ यो एक महिना गुँला पर्व मनाउने गरिन्छ ।

यो पर्वका अवसरमा मनाइने केपु बाजाको पूजा आराधना गर्ने परम्परा भने पछिल्लो समय जनशक्ति अभावले लोप हुन थालेको छ । चाबहिल क्षेत्रमा घरघरमा गरिने यो परम्परालाई हाल यहाँको नाट्येश्वरमा बाजा पूजा गरी निरन्तरता दिइएको छ ।

चाबहिलबाट पनि विगत वर्षमा महिनाभरमा एक दिन भए पनि फुर्सद मिलाएर विभिन्न थरी बाजा बजाउँदै स्वयम्भू घुम्न जाने गरिन्छ ।   

ठमेलमा शतसहस्रिका प्रदर्शन गरिने  

गुँला पर्वका अवसरमा विभिन्न बौद्ध विहारमा दीपङ्कर बुद्ध एवं अन्य बुद्धका सामग्री प्रदर्शन गरिन्छ । यस अवसरमा विभिन्न बौद्ध विहारमा पञ्चरक्षा, प्रज्ञापारमिता पाठ गरिन्छ ।

ठमेलको भगवान् बहालमा नीलपत्रमा स्वर्ण अक्षरले लेखेको शतसहस्रिका अर्थात् एक लाख श्लोक रहेको प्रज्ञापारमिता ग्रन्थ इच्छुक दर्शनार्थीका लागि देखाइन्छ । गुरुजुबाट यसको गुरुजुबाट यसको पाठसमेत हुन्छ ।

यो महायान सम्प्रदायको ठूलो ग्रन्थ हो । भगवान् गौतम बुद्धले भारतको मध्यप्रदेशस्थित गृद्धकुट पर्वतको राजगृहमा गर्नुभएको प्रवचनमा आधारित भएर यो ग्रन्थ तयार पारिएको बौद्ध धर्मावलम्बीको भनाइ छ ।

बज्रयान सम्प्रदायको ग्रन्थ भने भगवान् गौतम बुद्धले भारतको महाराष्ट्रस्थित गुन्टुर जिल्लाको धान्यकरक पर्वतमा प्रवचन गर्नुभएको हो । यी दुवै स्थललाई हाल संरक्षित गरिएको छ ।    

गुँला सकिएपछि यँला मनाइने  

गुँला पर्वको अन्तिम दिन अर्थात् भाद्र शुक्ल प्रतिपदाका दिन विधिपूर्वक विशेष पूजा आराधना गरी एकमहिने व्रत समापन गरिन्छ । यो पर्व सकिएपछि नेवार समुदायले यँला महिना पनि विशेषरुपमा मनाउँछन् ।

यो पर्वका अवसरमा महिनाभर बौद्ध चैत्य, विहार, गुम्बा, स्तुपलगायत धार्मिकस्थलमा बाजागाजासहित घुम्ने भक्तजनको भीड लाग्छ । यस अवसरमा काठमाडौँ उपत्यका विभिन्न थरी बाजाले गुञ्जायमान हुने गर्छ ।

जसको श्रवणबाट आनन्दानुभूति प्राप्त हुने यस समुदायका मानिसको अनुभव छ । यँला महिनाभरि पनि नेवार समुदायहरु मन्दिरको पाटी पौवामा बसेर बाजा बजाई भजनकीर्तन गर्ने प्रचलन रहिआएको छ ।

जसलाई दाफा थाय्गु भन्ने गरिन्छ । जसमा ३३ कोटी देवीदेवताहरुको भजन गाउने गर्दछ ।

Categorized in संस्कृति