arin enterprises

आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री हसिना राजीनामा दिएर भारत पुगिन्

SamacharDesk | २०८१ श्रावण २१, सोमबार

आरक्षण विरोधी आन्दोलन निकै चर्किएपछि अन्ततः प्रधानमन्त्री शेख हसिना राजिनामा दिई नयाँ दिल्ली भागेकी छिन् ।

बंगलादेशी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्य पुगेकी छिन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार आन्दोलनकारीले आवासमै छिरेर प्रदर्शन गरेपछि देश छाडेकी उनी ढाकाबाट हेलिकप्टरमा उडेकी थिइन ।

उता गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सव मनाइरहेका छन् । बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा भीड जम्मा भएको जानकारी दिएको छ ।

सोमबार बङ्गलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन थप व्यापक भएको छ । विद्यार्थी नेताहरूले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वान गरेपछि हजारौँ मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्याली सहभागी भएका थिए ।

बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले प्रधानमन्त्तीले राजीनामा दिएपश्चात देशवासीका नाममा सम्बोधन गर्दैर अन्तरिम सरकार गठन गर्ने बताएको छ । 

प्रधानमन्त्री हसिना भारत पुगेपनि उतैबाट बेलायत जान लागेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।  आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९६ जनाको मृत्यु भएको थियो ।

'विभेदविरोधी विद्यार्थी आन्दोलन'को ब्यानरमा भएको प्रदर्शनका क्रममा ठाउँ(ठाउँमा सुरक्षाकर्मीसँग झडप भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार कम्तीमा पनि ४ लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ढाकामा सोमबार मात्र प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ ।

राजधानी ढाकामा गाउँगाउँबाट समेत प्रदर्शनका लागि मानिसहरू आएको समाचारमा उल्लेख छ ।

Categorized in अन्तर्राष्ट्रिय