देशभर नाग पञ्चमी मनाईंदै
SamacharDesk | २०८१ श्रावण २५, शुक्रबार

आज नागपञ्चमी । देशभर घरका ढोकामाथि परम्पराअनुसार नागको तस्बिर र नाग पूजा गरेर नागपञ्चमी मनाइँदै छ ।
साथै नागको मन्दिर वा तलाउ पोखरीमा पूजा गरेर पनि नागपञ्चमी मनाउने चलन छ । यसैअवसरमा काठमाडौंको नक्शालमा अवस्थित नागपोखरीमा नागको पूजा गर्ने भक्तजनहरुको भीड लागेको छ ।
साथै देशभर अन्य नाग स्थानहरुमा पनि नागको पूजा गर्न भक्तजनहरु जम्मा भएका छन् । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ ।
नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ ।
नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको मानिन्छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा रहेको बराहपुराणमा उल्लेख छ ।
नागलाई बाह्र नाममा पुजिए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ ।
अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।
आज नागको पूजाआजा गरेपछि नाग सर्पलगायत घस्रने जनावरहरुलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।
Categorized in संस्कृति