‘पानवती’को ५०औं शोमा हृदयप्रसादलाई सम्मान
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ श्रावण २८, सोमबार

नेपालभाषाको चर्चित फिल्म ‘पानवती’को ५०औं च्यारिटी शो काठमाडौंमा हुने भएको छ ।
आउँदो शनिवार भाद्र १ गते हुन गइरहेको उक्त शोमा चलचित्रका एक मुख्य कलाकार साथै नेवार फिल्म क्षेत्रका चर्चित हास्य कलाकार हृदयप्रसाद मिश्रलाई सम्मान पनि गर्न लागिएको छ ।
शो भन्दा अघि एक कार्यक्रमको आयोजना गरी कलाकार मिश्रलाई सम्मान गर्न लागिएको चलचित्रका निर्देशक सुरेन्द्र तुलाधरले जानकारी दिए ।
‘शो अघि एक सानो कार्यक्रम गरी कलाकार हृदयप्रसाद मिश्रलाई सम्मान गर्न लागेका छौं । नेपालभाषाको चलचित्र क्षेत्रमा उनको निरन्तरको योगदानको कदर स्वरुप मिश्रलाई सम्मान गर्न लागेका हौं’ निर्देशक तुलाधरले भने ।
पानवती चलचित्रमा कलाकार मिश्रले मुख्य पात्र पानवतीको पिताको भूमिका खेलेका छन् ।
कलाकार मिश्रले सुभाय्, न्याल्ल ब्यां, पपू मदुम्ह झंगः, नेकू, तिमिला, सत्य धरोधर्म लगायतका नेपालभाषाको चलचित्रको साथै म्यूजिक भिडियो र प्रहसनहरुमा समेत अभिनयको साथै लेखन र निर्देशन समेत गरेका छन् ।
हलिं नेवाः गुथि रविभवन काठमाडौं शाखाले काठमाडौं सुन्धारा सिटिसि मलस्थित सिओसी सिनेमा हलमा पानवतीको ५०औं च्यारिटी शो गर्न लागेको हो ।
पानवतीलाई नेपालभाषाको चलचित्र क्षेत्रमा सबैभन्दा बढि च्यारिटी शो भएको चलचित्रको रुपमा दावी गरिएको छ ।
सुखावति फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्मित यो चलचित्रको काठमाडौं उपत्यकाको साथै नेपालकै विभिन्न जिल्लामा र अस्ट्रेलिया, जापान लगायतका देशहरुमा समेत प्रदर्शन भइसकेको छ ।
साथै च्यारिटी शोबाट संकलित रकमबाट विभिन्न संघसंस्थाको साथै आवश्यक परेका व्यक्तिहरुलाई समेत आर्थिक सहयोग पनि गर्दै आएको संकिपा युनिटले बताएको छ ।
आउँदो शनिवार दिउँसो १ः०० बजे चलचित्रको शो सुरु हुने बताइएको छ ।
Categorized in पेजथ्री