arin enterprises

ललितपुरमा न्यकू जात्रा मतयाःको तयारी पूरा

SamacharDesk – समाचारः सुरजबीर बज्राचार्य | २०८१ श्रावण ३१, बिहिबार

ललितपुर नगरमा गरिने कठिन यात्रा न्यकू जात्रा मतयाःको सम्पूर्ण तयारी पूरा भएको छ ।

आज (विहिबार) न्यकूजात्रा मतयाः संचालन मूल समारोह समिति क्षेत्र नं. १० नकबहिल टोलले पत्रकार सम्मेलनको आयोजना गरी जात्राको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

यस बर्ष भाद्रकृष्ण द्वितीया पर तृतीया अर्थात भाद्र ५ बुधवारका दिन ललितपुरमा यो पर्व मनाईँदैछ ।

यस वर्ष न्यकू जात्रा मतयाःका कार्यक्रमहरूः

न्यकू जात्रा अन्तर्गत नवबाजा प्रदर्शन तथा बोगी यात्रा सम्पन्न भइसकेको छ भने भाद्र २ गते साँझ ६ बजे कुम्भेश्वरमा नवबाजा प्रस्तुति हुँदैछ ।

भाद्र ५ गते नकबहिलमा भेला भइ विहान ४ बजे मतयाः (दीपयात्रा) आरम्भ हुने जानकारी आजको पत्रकार सम्मेलनमा दिइएको थियो ।

यसै दिन बिहान ११ बजे नकबहिलमै पूधाः बाजा निकाल्ने र दिउँसो १ बजे पाटन दरवारमा नवबाजा प्रस्तुति हुने बताइएको छ ।

आयोजकले दिएको जानकारी अनुसार भाद्र ६ गते विहान ११ बजे भेला भइ बुंगमतीमा नवबाजा बजाइनेछ भने भाद्र ७ गते विहान ११ बजे नकबहिलमै भेला भइ स्वयम्भूमा नवबाजा बजाउन जाने कार्यक्रम रहेको छ ।

यसै दिन साँझ ५ बजे गणेशपूजाको निमन्त्रणा तथा सूचना प्रवाह गरिनेछ, जसलाई स्थानीय नेपालभाषामा नायखिं च्वयेकेगु भनिन्छ ।

भाद्र ८ गते शनिवार दिउँसो १२ बजे नकबहिलमै भेला भइ गणेशपूजा यात्रा) गरिनेछ । सोही दिन साँझ ७ बजे पुरस्कार तथा सम्मान कार्यक्रमको साथमा पालो हस्तान्तरण र समापन कार्यक्रम हुनेछ ।

के हाे मतयाः (न्यकू जात्रा):

यो ललितपुर नगरको चार दिशामा रहेको चार वटा थूरलाई आधार बनाई बौद्धिक धार्मिक स्थलहरुको परिक्रमा गरिने परम्परा हो । लगभग १२ घण्टाको यो यात्रा विहान सबेरै करीब ४ बजे शुरु हुनेछ ।

श्रद्धालु भक्तजनहरु नकबहिलमा भेला भइ थालिने यो यात्रा अन्तमा आयोजक क्षेत्रको त्वाःम्वः (टोलका नाइके) ले निस्लाः (पिण्डपात्रमा चामल, पैसा) तथा निस्लापाः (चिउरा, अदुवा, मिठाई) चढाउने गरिन्छ ।

राजा बालार्चन देवले जेष्ठवर्ण महाविहार तंगबहाः स्थापना गरेको उपलक्ष्यमा ललितपुर नगरमा यो मतयाः अर्थात दीपयात्रा परम्परा थालेको बताइन्छ ।

कुम्भेश्वरमा नवबाजा बजाइ प्रारम्भ हुने मतयाःमा शिव र शिवगणको उपस्थिती अनिवार्य मानिन्छ ।

विशेषतः परिवारजनको मृत्युबाट शोकमा परेकाको सहभागिता यस पर्वमा रहने गर्दछ ।

यस यात्रामा अजिव भेषभूषा एवम् शैलीमा हास्य ब्यङ्गात्मक प्रस्तुत गर्दै सहभागी हुने समूहहरु पनि हुन्छन् भने टोलटोलबाट बाजागाजा सहित समूहहरुको सहभागिता पनि रहन्छ ।

यसमा धिमे, नायखिं, क्वँचाखिं, मगःखिं, नगरा, ढोलक, मृदङ्ग, झाँक्री बाजा, जोरानगरा, दह ब्याबाजा, खँजरी, दबदब, धाः, दम्वःखिं, नेकू, तिक्ली तथा पय्ताखिं लगायतका बाजा बजाउने गरिन्छ ।

यी बाजाहरु मध्ये धाः, न्यकू, दम्वःखिं, प्रमुख हुन् भने नेकू अर्थात सिङ बाजा (फुकेर बजाउने) कै नामबाट यस जात्रालाई न्यकू जात्रा अथवा श्रृंगभेरी जात्रा भन्ने गरिएको छ ।

मतयाःको सन्दर्भमा प्रचलित किम्वदन्तिः

शशिपटन देशकी रानी सुलक्षणाले आफ्नो पति राजा सिंहकेतु मृत्युपश्चात् राँगोको रुपमा जन्मिएका थिए । सो अवधिमा रानी सुलक्षणा सोही राँगो पालिराखेको घरमा ब्राम्हण पुत्रीका रुपमा जन्मिएकी थिइन् ।

उनले आफ्नो पूर्वजन्मको पति नै यो जन्ममा राँगो भइ जन्मिएको थाहा पाइन् ।

पछि राँगोको मृत्यु पश्चात दुई वटा सिङमध्ये एउटा नदी किनारमा गाडेर सो स्थानमा चैत्य निर्माण गरेको र अर्को सिङको बाजा बनाई सो बाजा बजाउँदै चैत्य परिक्रमा गरेको उल्लेख छ ।

केही समय पश्चात उनका पति सिँहकेतु राजा धर्मशिलका नामले प्रकट भएको मानिन्छ ।

Categorized in संस्कृति