खोकनामा ऐतिहासिक रुद्रायणी जात्रा शुरु
SamacharDesk | २०८१ भाद्र ४, मंगलबार

काठमाडौँ उपत्यकाको दक्षिणमा अवस्थित ऐतिहासिक पुरानो नेवा: बस्ती खोकनामा ऐतिहासिक रुद्रायणी जात्रा सुरु भएको छ ।
जात्राको पहिलो दिन रुद्रायणी देवीलाई सिकाली चौरमा लगेर तान्त्रिक विधिअनुसार पूजा गर्ने चलन रहेको छ । खोकनाको मन्दिरमा पूर्णिमाको दिन(हिजो) विशेष पूजा गरेर रुद्रायणीलाई जात्राको लागि तयार गरिन्छ ।
यसपछि सिकाली चौरमा लगिएको रुद्रायणीलाई खोकनाका विभिन्न पाटीहरुमा दर्शन र पूजाका लागि ल्याइन्छ । पौराणिक कालमा रुद्रायणीको पूजा र जात्रा महिना दिनसम्म चल्ने भएपनि यसलाई छोट्याएर अहिले ३ दिनमा सारिएको छ ।
यस समयको पूजालाई नेपालभाषाबाट ‘घँज्या’ भन्दछन् । यस्तै भोलि फर्सि र काँक्रोको पूजा गर्दै यो जात्रा समापन गरिन्छ ।
जात्रा अवधिमा खोकना गढभित्र नुहाउने, लुगा धुने, छालाका सामानहरु लगाउने, कुखुराको मासु, अण्डा, पूजामा रातो टीका, घण्टी बजाउने, मनोरञ्जनात्मक कार्य तथा भोज भतेर कार्य पूर्णरुपमा प्रतिबन्ध गरिन्छ ।
खोकनाको रुद्रायणीको जात्रा कृषिसँग जोडिएको स्थानियको मत रहेको छ । ‘सि’ भनेको फलफूल र ‘काली’ भनेको फल्ने ठाउँ भएर काठमाडौं उपत्यका आफैँ सिकाली रहेको भनिन्छ ।
यो जात्रामा विशेषगरी फलफुल दान गर्ने चलन छ । स्थानीय उदयकुमार डंगोलले रुद्रायणी मन्दिरमा रहेका देवताहरुलाई खटमा निकालेर सिकाली चौरमा पुर्याइ पुजाआजा गरी रुद्रायणी जात्रा मनाउने गरिएको बताउनु भयो ।
उहाँले सिकाली चौरमा पुर्याएर विधिपूर्वक देवताहरुको पूजाआजा गरेपछि देवताहरुलाई पुनः रुद्रायणी मन्दिरमा फिर्ता ल्याइन्छ र फिर्ता ल्याउने पनि आफ्नै विधिसम्मत तरिका रहेको बताउनु भयो ।
उहाँकाअनुसार देवतालाई खटमा बसाएर बाजागाजासहित नाचगान गर्दै ल्याएर पुनः रुद्रायणी मन्दिरमै देवतालाई पुनःस्थापित गरिन्छ ।
पुजाआजा सम्पन्न भएपश्चात मन्दिरमा भोज गरिन्छ । र राति डबलीमा गएर जात्रा गर्ने परम्परा रहदै आएको छ । उहाँले खोकनामा गाइजात्रा भने भोलि मात्रै मनाइने बताउनु भयो ।
भोलि मृतकको परिवारबाट एक वर्षभित्र साफर जाने भनि कार्यक्रम गरिने र भोलि पनि देवगणहरुको विशेष पूजासहित भोजन हुने उहाँको भनाई छ ।
हिजो क्वाती खाने दिनमा भ्यागुतालाई भात खुवाउने चलन रहेको बताउनु भयो । भ्यागुतालाई खुवाएर राखिराखेको भागबाट आज बेलुका औजारहरु पूजा प्रचलन रहेको पनि उहाँले जानकारी दिनुभयो ।
खोकनाका नेवारी समुदायले रुद्रायणीको जात्रालाई निकै हर्षोल्लासका साथ मनाउने गरेका छन् ।
Categorized in संस्कृति