arin enterprises

उपाकलं सायाःमा नृसिंह बने संचारकर्मी राजीव

SamacharDesk – बिराज | २०८१ भाद्र ११, मंगलबार

नेपालभाषाको संचार क्षेत्रमा सक्रिय संचारकर्मी राजीव राजोपाध्याय नरसिंह बन्न पाउनु आफ्नो अहोभाग्य ठान्छन् ।

गत शनिबार भाद्र ८ गते ललितपुरमा सम्पन्न नृसिंह जात्रा उपालकं सायाःमा नरसिंह बन्न पाएर निकै खुसी छन् संचारकर्मी राजोपाध्याय ।

‘भाग्यले पाएको अवसर ठान्छु यसलाई । यस पालि आफैं नरसिंह बनेर धार्मिक, सांस्कृतिक परम्परालाई निरन्तरता दिन पाउँदा निकै खुसी छु’ राजोपाध्यायले भने ।

हुन पनि भनेर पाइने अवसर पनि होइन यो । पालो आइहाल्छ नि भनेर पाइने पनि होइन ।

ललितपुरको षटकुल राजोपाध्याय देव ब्राह्मणहरुको उपाकर्म गुठीमा जेष्ठताको आधारमा पालो दिँदै गुठी चलाइन्छ । यसरी गुठी पालो पाएको गुठीका सदस्यले भाद्र कृष्ण पंचमीका दिनमा नृसिंह जात्रा निकाल्ने गर्दछन् ।

यस क्रममा पालोवालाका ज्वाइँ अथवा भान्जा अथवा पुरोहितलाई नरसिंह बनाइ ललितपुरको सायाः रुटमा परिक्रमा गराउने गरिन्छ । वर्षभरीमा परिवारमा दिवंगत भएकाहरुको उद्धारको कामना गर्दै आम नागरिकले नरसिंहको पूजा गर्ने परम्परा रहेको छ ।

पालो लिनु अघि नै मृत्यु भएमा उमेरको हिसाबले त्यस पछिको गुठीका सदस्यले पालो लिन्छन् तर, पालो लिइसकेको अवस्थामा पालोवालाको निधन भएपनि उनको परिवारबाट यो जात्रा सम्पन्न गर्ने परम्परा रहेको छ

गुठीका जेष्ठ सदस्यले पालो पाउने भएपछि कैयनको लागि आफ्नो उमेर नै पालो चलाउनको लागि बाधक बनिदिन्छ । कतिपय अवस्थामा पालो लिने व्यक्तिको पालो लिनु अघि नै मृत्यु भएको देखिन्छ ।

यस पटक गुठीको पालो पिम्बहालका स्वर्गीय नृपेन्द्र राज शर्माले पाएका थिए । शर्माले पालो त लिन भ्याए तर, पालो लिएपछि गत २०८० फागुन ५ गते उनको निधन भयो ।

शर्माको निधन पछि उनको परिवारले यस वर्षको जात्रा संचालन गरे ।

‘पालो लिनु अघि नै मृत्यु भएमा उमेरको हिसाबले त्यस पछिको गुठीका सदस्यले पालो लिन्छन् तर, पालो लिइसकेको अवस्थामा पालोवालाको निधन भएपनि उनको परिवारबाट यो जात्रा सम्पन्न गर्ने परम्परा रहेको छ’, उपाकर्म गुठी व्यवस्थापन समितिका उपाध्यक्ष संजय शर्मा राजोपाध्यायले भने । ‘त्यसैले यस वर्ष पनि पालोवाला नृपेन्द्रराज शर्माको निधन भएपनि उनको परिवारबाट यो जात्रा सम्पन्न भएको छ ।’

यस वर्षको गुठीको पालो स्वर्गीय शर्माको भएकोले जात्रामा उनका ज्वाइँ एबीसि टेलिभिजनमा प्रसारण भइरहेको नेपालभाषाको कार्यक्रम ‘झीगु सः’ का दृश्य सम्पादक साथै नेवाः अनलाइन न्यूजमा समेत कार्यरत संचारकर्मी राजोपाध्याय नरसिंह बनेका थिए ।

‘विश्वशान्ति, प्राकृतिक प्रकोपबाट मुक्ति साथै पितृ उद्धारको कामना गर्दै गरिने जात्रा हो । यस्तो पवित्र उद्देश्य बोकेर गरिने जात्रामा आफैं मुख्य पात्र नरसिंह बनेर परम्परा सम्पन्न गर्ने अवसर पाएकोमा मैले आफुलाई भाग्यमानी ठानेको छु’ संचारकर्मी राजोपाध्यायले भने ।

स्वर्गीय शर्माको निधन पछि जात्रामा उनले निर्वाह गर्नुपर्ने भूमिका र कर्तव्य सबै उनका जेष्ठ सुपुत्र त्रिलोचन राज शर्माले सम्पन्न गरेका थिए ।

‘जात्रा अघि नै बुवाको निधन भयो, पितृको उद्धारको लागि गरिने यो जात्रामा बुबाले बैकुण्ठमा वास पाओस् भन्ने कामनासहित जात्रा सम्पन्न गर्यौं । सक्दो राम्रो र व्यवस्थित गर्न कोशिश गरेका छौं’ शर्माले भने ।

जात्राको दौरान नरसिंहले नगर परिक्रमा गर्ने क्रममा उनको दायाँबायाँ लक्ष्मी र सरस्वती पनि हुन्छन् । त्यस्तै नरसिंहको अगाडी धुप समाएर नमस्कार गर्दै प्रह्लाद उल्टो हिँड्छन् ।

यस वर्षको जात्रामा लक्ष्मी काठमाडौं ढोकाटोलका सजन राजोपाध्याय र सरस्वती पिम्बहालका आदित्य राजोपाध्याय बनेको थिए । त्यस्तै प्रह्लाद भने पिम्बहालका तिलक राजोपाध्याय बनेका थिए ।

साथमा कुचो, लावा अभीर, गाइको दुध, पंखा, चमर र दण्ड समाएका अप्सराहरुको ६ जोडी पनि नरसिंहसँगै नगर परिक्रमा गर्ने गर्दछन् ।

पालोवालाकै घरबाट सुरु भई पाटनको सायाः रुट परिक्रमा गरी सुरु भएकै स्थानमा पुगी जात्रा सम्पन्न गर्ने परम्परा छ । यस वर्ष पाटनको पूर्णचण्डीबाट जात्रा सुरु भएको थियो ।

पूर्णचण्डीबाट गाःबहाल हुँदै पिम्बहाल, बालिफल, क्वालखु, कुम्भेश्वर, क्वबहाल, स्वथ, मंगलबजार, सुन्धारा, ओकुबहाल, थैना, टंगल, तिच्छुंगल्ली, इखालखुबाट पूर्णचण्डीमै पुगेर जात्रा सम्पन्न गरिएको थियो ।

जात्राको परिचय र इतिहास

नरसिंहलाई भगवान नारायणका चौथो अवतारको रुपमा लिइन्छ । हिरण्यकश्यपुको वध गर्दै आफ्ना भक्त प्रल्हादको रक्षा गर्न नारायणले नरसिंह अवतार लिएका थिए ।

नरसिंह भन्ने वित्तिकै सबैले कल्पना गरिहाल्छन् मानव शरीर तर टाउको सिंहको, एकदमै उग्र रुपका । तर ललितपुरमा निकालिने उपाकलं सायाःका नरसिंह शान्त स्वरुपका हुन् ।

कार्तिक नाचमा निकालिने नरसिंह हिरण्यकशिपुको वध गर्न प्रकट भएका उग्र स्वरुपका हुन् भने उपालकं सायाःको नरसिंह हिरण्यकशिपुको वध पछि शान्त भइसकेका नरसिंह हुन् ।

नरसिंह भन्ने वित्तिकै वैष्णव मत हो भनी सबैलाई थाहा छ । तर यो जात्राको एउटा विशेषता भनेको यसमा विष्णुको साथै शक्तिको पनि आराधना गरिन्छ ।

नरसिंहको पछाडी कपडाबाट बनाइएको दुइवटा पुतली पनि बाँधिएको हुन्छ र नरसिंह हिँड्ने बेला सोही पुतलीलाई घिसार्दै जान्छन् । रुन्चे लागेका बालबालिकालाई यो पुतली ढोग्न लगाएमा रुन्चे निको हुन्छ भन्ने जनविश्वास रहेको छ ।

नरसिंहले हिरण्यकशिपुको वध गरेको हुनाले यी पुतलीहरुलाई हिरण्याक्ष र हिरण्यकश्यपु भन्ने गरिन्छ । तर यी पुतलीहरु मधु र कैटभ हुन् भनी यस जात्राका विज्ञ मानिएका स्वर्गीय संस्कृतिविद् हेरम्वानन्द राजोपाध्यायले बताएका छन् ।

‘मधु र कैटभको वध कालीको साथ लिइ नारायणले गरेका थिए । मधु र कैटभलाई घिसार्दै हिँडेका उपाकलं सायाःका नरसिंहको अग्र भाग नरसिंह हो भने पछाडीको भाग काली हो’ स्वर्गीय संस्कृतिविद् राजोपाध्यायको भनाई थियो ।

ललितपुरको कार्तिक नाचकै क्रममा पनि कार्तिक शुक्ल त्रयोदशिको दिन नरसिंह अवतार प्रदर्शनभन्दा अघि ललितपुरमा तलेजुमा कालीको पूजा गर्ने परम्परा रहेको छ ।

यसप्रकारले कार्तिक नाचको क्रममा पनि कालीकै पूजा गर्ने परम्पराले नरसिंह र कालीको सम्वन्ध देखाउँछ ।

यो नृसिंह जात्रा भन्दा अघि विगतमा श्रीधर नारायणको जात्रा हुने गर्दथ्यो भनेर समाजका अग्रजहरु बताउने गर्छन् ।

एकपटक जात्राको दौरान केही समूहबाट आक्रमण भएर श्रीधर नारायणको जात्रा रोकिएको र नरसिंह जात्रा चलाउन थालिएको भनाई रहेको छ ।

ललितपुरका राजोपाध्याय देव व्राम्हणहरुको उपाकर्म गुठीसँग यस जात्राको नेपाल सम्वत ७५१ (वि.सं.१६८८) देखिको लिखित दस्तावेज छ । त्यस हिसाबले यस जात्राको इतिहास करीब चार सय वर्षको आसपास देखिएको छ ।

Categorized in संस्कृति