थप ३२३ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या ३२३५
SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ २४, शनिबार

नेपालमा पछिल्लो समय दिनको ३ सयको हाराहारीमा कोरोना भाईरसका नयाँ संक्रमित देखिन थालेका छन् । आजै थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न ११ वटा प्रयोगशालामा गरिएको स्वाबको पिसिआर परिक्षणमा ३ सय २३ जनामा संक्रमण देखिएको जनाएको छ । आज संक्रमण पुष्टि हुनेमा २ सय ८६ जना पुरुष र ३६ जना महिला छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ३ हजार २ सय ३५ पुगेको छ । तीमध्ये ३ हजार ३ जना पुरुष र २ सय ३२ जना महिला छन् ।
प्रदेश १ का १२ जिल्लामा २ सय ४९ जनालाई संक्रमण भएको छ भने प्रदेश २ का सबै ८ वटै जिल्लामा संक्रमित संख्या १ हजार ७७ पुगेको छ ।
बागमति प्रदेशका १२ जिल्लामा ९० जना, गण्डकी प्रदेशमा ९ जिल्लामा ७३, प्रदेश ५ का ११ जिल्लामा एक हजार ६१, कर्णाली प्रदेशका ९ जिल्लामा ५ सय ७९ र सुदुरपश्चिम प्रदेशका सबै ९ वटै जिल्लामा एक सय ६ जना संक्रमित भइसके ।
आज कर्णाली प्रदेशको जाजरकोट र डोल्पा जिल्ला थप भएसँगै देशका ७० जिल्ला संक्रमणबाट प्रभावित भएको छ ।
आजसम्ममा कुल ३ सय ६५ जना कोभिड १९ संक्रमण निको भएर घर फर्केका छन् । पछिल्लो पटक विभिन्न अस्पतालबाट ३२ जना डिस्चार्ज भएर घर फर्केको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
कोभिड १९ संक्रमित मृत्युको संख्या भने १३ पुगेको छ । गत २१ गते निधन भएका डोल्पाका ५८ वर्षीय पुरुष र २३ गते मृत्यु भएकी धनगढीकि ५५ वर्षीया महिलाको पिसिआर परिक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले आज पुष्टि गरेको छ ।
आजसम्मको विवरण अनुसार देशका विभिन्न २१ वटा प्रयोगशालाबाट पिसिआर विधिबाट ९२ हजार ४ सय ७७ र आरडिटि विधिबाट १ लाख ३७ हजार ४ सय ३५ वटा परिक्षण भएका छन् ।
पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ४ हजार एक सय ११ र आरडिटी विधिबाट ४ हजार ४ सय ६९ वटा परिक्षण भएका छन् ।
देशका विभिन्न भागमा कुल १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा बसिरहेका छन् भने २ हजार ८ सय ५७ जना आइसोलेसनमा उपचाररत छन् ।
Categorized in राष्ट्रिय