arin enterprises

‘राजमति कुमति’काे नेपाली भर्सन सार्वजनिक

SamacharDesk – बिराज | २०८१ भाद्र २०, बिहिबार

‘राजमति कुमति, जिके वःसा पिरति’ नेपालभाषाको यो लोकगीत नसुन्ने शायदै कोही नेपाली होला । नेवाः समुदायमा मात्र होइन, सयौं वर्ष पुरानो यो गीत आजको दिनसम्म पनि गैर नेवाः समुदायको साथै विदेशमा समेत चर्चित छ ।

तर, यो गीत सुन्ने कैयनलाई यहि गीतसँग सम्वन्धित एउटा कुरा भने थाहा नहुन सक्छ । यहि गीतले नेपालको पहिलो राष्ट्र गीतको इतिहास र गर्व बोकेको छ ।

तत्कालीन समयमा जङ्ग बहादुर राणा बेलायत भ्रमणमा जाँदा उता नेपालको राष्ट्रिय गीत प्रस्तुत गर्नुपर्ने भयो । तर, त्यो समयमा नेपालको कुनै राष्ट्रिय धुन वा गीत नै थिएन । जङ्गबहादुरलाई के गरुं के नगरुं भएछ ।

जङ्गबहादुरसँगै बेलायत पुगेको बाजा टोलीमा एक जनाले ‘राजमति कुमति बजाउँ’ भनेर सोधेछन् र जङ्गबहादुरले हुन्छ भनेपछि नेपालको राष्ट्रिय गीतको रुपमा राजमति कुमति जिके वःसा पिरति गीतको धुन बाजा टोलीले बजाइदिएछ ।

यसरी राजमति कुमति गीतले नेपालको पहिलो राष्ट्रिय गीत बन्ने अवसर पाएको थियो ।

नेपालभाषामा मात्र बनेको करीब २५० वर्ष पुरानो मानिएको यो गीत अहिले नेपाली भाषामा पनि रेकर्ड भई सार्वजनिक भएको छ ।

एक पछि अर्को पुस्ता भएर पुस्तान्तरण हुँदै आजको दिनसम्म पनि नेपाली समाजमा चर्चित गीतको रुपमा रहेको यो गीतको नेपाली भर्सन हालै एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

करिब ११५ बर्ष अघि वि.सं. १९६५ ताका काठमाडौं भोटाहिटीका सेतुराम प्रधानले पहिलो पटक भारतको कलकत्तामा रेकर्ड गरेको कालजयी गीत ’राजमती ’को नेपाली भर्सन कृष्ण काफ्लेको आवाजमा रेकर्ड भई सार्वजनिक भएको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच हास्य सम्राटको उपाधी पाएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले राजमति कुमति नेपाली भर्सन गीतको म्यूजिक भिडियो सार्वजनिक गरे ।

सो अवसरमा राजमति चलचित्रका राजमति हिसिला महर्जन, तुइसिं मणिराज लवट, राजमतिका मुख्य सहायक निर्देशक विजयरत्न तुलाधर लगायतले उक्त गीतको पोस्टर सार्वजनिक गरेका थिए ।

कार्यक्रममा बोल्दै म्यूजिक भिडियो निर्देशक शवनम मुखियाले एउटा ऐतिहासिक गीतको नेपाली भर्सनको म्यूजिक भिडियो निर्देशन गर्न पाउँदा आफुलाई निकै खुसी र गर्व लागेको बताइन् ।

अब यस गीतले राष्ट्रिय साथै अन्तर्राष्ट्रिय संगीत क्षेत्रमा समेत अझ व्यापकता पाउने आशा र विश्वास रहेको निर्देशक मुखियाको भनाई थियो ।

राजमति चलचित्रकी राजमति हिसिला र मुख्य सहायक निर्देशक विजयरत्नले राजमति गीतको नेपाली भर्सनको म्यूजिक भिडियो सार्वजनिक भइरहँदा राजमति चलचित्र रिलिज भएकै दिनको खुसी स्मरण भइरहेको बताए ।

राजमति कुमति नेपाली भर्सनमा शब्द सम्पादन गीतकार कृष्णदेव रिमालले गरेका छन् । राजमति चलचित्रकै कथाबस्तुमा आधारित भई बनाइएको म्यूजिक भिडियोमा सागर खनाल र सोनी लगुन लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

दिपक बज्राचार्यले छायाङ्कन गरेको दृश्यहरुको सम्पादन अरुण शर्माले गरेका छन् । म्यूजिक भिडियोको परिकल्पना र निर्देशन सबनम मुखियाले गरेकी छिन् ।

सोही कार्यक्रममा गायक सेतुराम प्रधानको परिवार, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, व्यवसायी तेन्जिङ शेर्पा लगायतलाई सम्मान गरिएको थियो ।

Categorized in पेजथ्री