हिन्दू नारीहरुको महान पर्व तीज मनाईंदै
SamacharDesk | २०८१ भाद्र २१, शुक्रबार

आज हरितालिका तीज पर्व । हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ।
तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्।
यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै क्षेत्रमा पनि मनाइन्छ। पार्वतीले शिवजी वरका रूपमा प्राप्त गरौँ भनी मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास रहिआएको छ ।
त्यस्तै भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो।
त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन् भन्ने विश्वास गरिन्छ। पति अनि परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरूले अटल सौभाग्य पाउने विश्वास गरिन्छ ।
हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ । आजको दिन निराहार र निर्जला व्रत बस्ने चलन छ । आज पशुपतिनाथलगायत देशभरका शिव मन्दिर र शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको विशेष भीड लागेको छ ।
अविवाहित नारीहरूले योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्छन् ।
हिन्दू नारीको महान् पर्व हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ ।
पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तिजलाई महिला सशक्तीकरणको रूपमा हेर्न थालिएको छ ।
Categorized in संस्कृति