arin enterprises

पाटनमा दशमहाविद्या पूजा सम्पन्न

SamacharDesk – बिराज | २०८१ भाद्र २८, शुक्रबार

पाटनमा दशमहाविद्या पूजा सम्पन्न भएको छ । हरेक वर्ष कायाष्टमीको दिन गरिने दशमहाविद्या पूजा यस वर्ष गत बुधबार सम्पन्न भएको हो ।

यस वर्ष पूजाको पालो ‘छिन्नमस्ता’ देवीको परेको थियो । पालो परेकै देवीको स्थान वा मन्दिरमा पूजा गर्ने परम्परा अनुसार पाटन पट्को टोलस्थित छिन्नमस्ता देवीको मन्दिरमा पूजा गरिएको थियो ।

पाटनमा मगलबजारस्थित कृष्ण मन्दिरको पछाडी रहेको म्वःमदु गल्लीमा छिन्नमस्ताको मन्दिर रहेको छ ।

स्थानीय नेपालभाषामा म्वः भन्नाले टाउको र मदु भन्नाले छैन भन्ने बुझिन्छ । छिन्नमस्ता टाउको नभएकी देवी भएकोले यिनै देवीको नामबाट यो गल्लीको नाम म्वःमदु गल्ली रहन गएको बताइन्छ ।

यस वर्ष मंगल टोल सुधार संघ, श्री दशमहाविद्या (छिन्नमस्ता) पूजा तथा परिक्रमा पर्व आयोजक समिति २०८१ ले पूजाको आयोजना गरेको थियो ।

दश जना दिक्षित राजोपाध्याय देव ब्राह्मणहरुबाट विधिपूर्वक दशमहाविद्याको पूजा सम्पन्न गरिएको थियो । देवीको तस्वीर राखेर यन्त्रसहित तान्त्रिक विधिविधानबाट दशमहाविद्याको पूजा गरिएको थियो ।

पूजा पछि पाटनका विभिन्न स्थानमा अवस्थित दशमहाविद्या देवीको साथमा गणेश र नासःद्यःको दर्शन र पूजा गर्दै परिक्रमा पनि गरिएको थियो ।

पार्वतीको दश रुप महामाली, तारा, छिन्नमस्ता, षोडशी, भुवनेश्वर, भैरवी, धूमावती, बगलामुखी, मातंगी र कमलालाई दशमहाविद्याको रुपमा लिइन्छ ।

दशपाटनमा हरेक वर्ष कायाष्टमीको दिनमा दशमहाविद्या पूजा तथा परिक्रमा गर्ने गरिएको छ । दशमहाविद्या अवस्थित १० वटा टोलबाट पालैपालो यो पूजा चलाउने गरिएको छ । 

Categorized in संस्कृति