कास्य पदक विजेता पलेसालाई प्रधानमन्त्रीबाट पुरस्कार प्रदान
SamacharDesk | २०८१ भाद्र २८, शुक्रबार

पेरिस पारा ओलम्पिक, २०२४ मा काँस्य पदक विजेता पलेसा गोवर्द्धनलाई पुरस्कृत गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार एक कार्यक्रम बीच कास्यपदक विजेता पलेसासहित प्रशिक्षक र टिम व्यवस्थापकलाई सम्मान गरेको हो ।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको बताउनुभयो । उहाँले खेल क्षेत्रका सबै विधाहरुमा अझै उत्कृष्ट प्रगति गर्दै जान खेलाडीलाई आग्रह गर्नुभयो ।
क्रिकेट, फुटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन लगायतका खेलमा पछिल्लो समय उल्लेख्य प्रगति भएको उहाँको भनाइ थियो ।
मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेसालाई ६५ लाख रुपियाँ पुरस्कार राशीमा कर नकटाई पुरस्कृत गरिएको हो । सरकारले डिजिटल माध्यमबाट पलेशाको खातामा उक्त रकम जम्मा गरेको हो ।
यस्तै, सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार रुपियाँ पुरस्कारसहित सम्मान गरिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशीमा कर नकटाउने नीति लिइएको बताउनुभयो ।
उहाँले आगामी विश्वस्तरका खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेसाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठुलो पदक भएकाले देशले गौरव गरेको बताउनुभयो ।
Categorized in स्पाेर्ट्स