एकै परिवारका ११ जनाको शव भेटियो
SamacharDesk – समाचारडेस्क – इन्टरनेशनल ब्युरो | २०७५ आषाढ १७, आइतबार

भारतको राजधानी नयाँ दिल्लीको एक निजी आवासमा एकै परिवारका एघार जनाको शव भेटिएको छ ।
नयाँ दिल्लीको उत्तरी क्षेत्र बुरारी भन्ने ठाउँमा रहेको एउटा घरभित्र ती शवहरु भेटिएको अधिकारीहरुले जनाएका छन् । प्रहरी अधिकारीका अनुसार ११ जनामध्ये १० जनाको शव झुण्डिएको अवस्थामा थियो भने ७५ वर्षीय वृद्धा एकजनाको शव भने घरको भुइँ तल्लामा थियो ।
मृत्यु हुने सबैजना नयाँ दिल्लीमै प्लाइउडको व्यापार गर्दै आएका ललित भन्ने व्यक्तिको परिवारका सदस्य थिए । उनीहरु विगत दुई दशक भन्दा बढी समयदेखि सोही घरमा बस्दै र व्यापार गर्दै आएका थिए ।
एक स्थानीयको भनाई अनुसार झुण्डिएको अवस्थामा भेटिएका सबैको आँखामा पट्टी बाँधिएको थियो ।
उनीहरुको पसल बन्द भएको देखेपछि छिमेकीहरुले सोधखोज गरेपछि मात्र आइतबार बिहान घटना सार्वजनिक भएको हो । घटना केहीदिन पहिले नै भएको हुन सक्ने अनुमान गरिएको छ ।
दिल्ली प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ । प्रहरीले सामुहिक आत्महत्या या उनीहरुलाई झुण्ड्याएर मारिएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।
प्रहरीले अनुसन्धानका लागि छिमेकीहरुसँग सोधपुछ गर्ने र सिसिटीभीको फुटेजहरु अध्ययन गर्ने काम गरिरहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।
मृत्यु भएकामा सात जना महिला र चार पुरुष रहेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय