३१४ नयाँ संक्रमित फेला परे, कुल संक्रमित संंख्या ३७६२
SamacharDesk – विकाश | २०७७ जेठ २६, सोमबार

नेपालमा आज ३ सय १४ जना कोभिड १९ का नयाँ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न ११ वटा प्रयोगशालामा गरिएको परिक्षणमा थप ३ सय १४ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।
मन्त्रालयका नवनियुक्त प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न भागमा २ सय ९४ पुरुष र २० जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
योसँगै नेपालमा कुल संक्रमित संख्या ३ हजार ७ सय ६२ पुगेको छ । तीमध्ये ३ हजार ५ सय ६ जना पुरुष छन् भने महिला २ सय ५६ जना छन् ।
देशका ७१ जिल्लामा संक्रमण फैलिएको छ ।
यो संक्रमण निको हुनेको संख्या ४ सय ८८ जना रहेको छ । पछिल्लो पटक २१ जना संक्रमित निको हुँदै विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मृत्यु हुनेको संख्या भने १४ पुगेको छ । स्याङ्जा वालिङ ३ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएसँगै मृतक संख्या १४ पुगेको हो ।
हालसम्म पिसिआर विधिबाट १ लाख ९ सय ७१ र आरडिटी विधिबाट १ लाख ५६ हजार ९ सय ९१ वटा परिक्षण सम्पन्न भएका छन् ।
पछिल्लो २४ घन्टामा ४ हजार ७ सय ६६ वटा पिसिआर विधिबाट र आरडिटी विधिबाट ११९४२ वटा परिक्षण भएको छ ।
सप्तरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पनि कोरोना परिक्षणको प्रयोगशालाको शुरुवात भएसँगै प्रयोगशाला संख्या २१ पुगेको छ ।
