कलाकारलाई राष्ट्रिय सम्मान दिन नसेकोमा वडाध्यक्ष महर्जन दुःखित
SamacharDesk – बिराज | २०८२ श्रावण ११, आइतबार

ललितपुर महानगरपालिका वडा २१ का वडाध्यक्ष रविन्द्र महर्जनले कुनै पनि क्षेत्रबाट देशलाई योगदान दिने सर्जक, सामाजिक अभियानकर्मीहरुलाई राष्ट्रले उचित सम्मान दिन नसकेकोमा दुःख पोखेका छन् ।
स्वर्गीय कलाकर्मी स्वतन्त्र संसार महर्जनको श्रद्धान्जलि सभामा बोल्दै वडाध्यक्ष महर्जनले कलाकार, खेलाडी वा कुनै पनि क्षेत्रबाट देशलाई योगदान दिने व्यक्तिलाई राज्यले उचित सम्मान दिनुपर्ने बताउँदै यस्तो भनेका हुन् ।
‘कला र कलाकारको उत्थानमा जीवन समर्पण गर्ने स्वतन्त्रलाई राष्ट्रबाट उचित सम्मानसहित विदाई गर्नुपर्ने हो, जुन हुन सकेन । यो कुरामा मलाई निकै दुःख लागेको छ’ महर्जनले भने ।
सभामा बोल्दै महर्जनले सामाजिक क्षेत्रमा स्वर्गीय स्वतन्त्रको सक्रियता, निरन्तरता र योगदानले आफुले धेरै सिकेको बताए ।
ललितपुर २१ वडा खोकनाका कलाकर्मी स्वतन्त्र संसार महर्जनको गत असार २८ गते मृत्यु भएको थियो । लामो समयदेखि मेरुदण्डको ट्युमरबाट पिडित रहँदै आएका स्वतन्त्र हिँडडुल गर्न सक्दैनथिए ।
तथापि स्वतन्त्र कला क्षेत्रमा निरन्तर सक्रिय रहँदै विभिन्न कार्यक्रम गर्दै आएका थिए ।
गत श्रावण ९ शुक्रवारका दिन स्वतन्त्रले नै स्थापना गरेका संस्थाहरु संसार क्रिएसन्स नेपाल, संसार फाउन्डेसन नेपाल, संसार्स अनलाईन टिभि र संसार संगीतालयले कीर्तिपुर श्रद्धान्जलि सभाको आयोजना गरेका थिए ।
सभामा बोल्दै संसार संगीतालयकी संरक्षक सरिता महर्जनले कला नेवाः कला क्षेत्रमा स्वतन्त्र योगदान उल्लेखनीय र अतुलनीय रहेको बताइन् ।
वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरे, वरिष्ठ निर्देशक पवन जोशी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले शारिरीक रुपमा समस्या भएपनि संसारकै सबैभन्दा ठुलो अवार्ड कार्यक्रमको रुपमा विश्व रेकर्ड बनाउन स्वतन्त्रले गरेको आँट र सुरुवातको प्रशंसा गरे ।
स्वर्गीय कलाकर्मी स्वतन्त्रले संसारकै सबैभन्दा बढि विधाको र लामो अवधिको अवार्ड कार्यक्रममा रुपमा विश्व रेकर्ड कायम गर्ने भन्दै स्टार म्यूजिक भिडियो अवार्डको सुरुवात गरेका थिए ।
राष्ट्रिय अवार्डको रुप दिँदै यस अवार्डको तेश्रो संस्करण गत जेठ ३ गते सम्पन्न भएको थियो ।
कलाकार मनोज महर्जनले कलाकर्मी स्वतन्त्र आफ्नो प्रेरणा रहेको बताउँदै विश्वकै सबैभन्दा ठुलो अवार्डको विश्व रेकर्ड कायम गर्ने स्वतन्त्रको सपना पूरा गर्न सबै एकजुट हुन आह्वान गरे ।
स्वर्गीय कलाकर्मी स्वतन्त्र संसार महर्जनले विभिन्न स्थानीय गतिविधिहरुको समाचारमूलक साथै म्यूजिक भिडियो लगायत मनोरन्जनात्मक प्रस्तुति दिँदै संसार्स अनलाइन टिभि पनि संचालन गर्दै आएका थिए ।
संसार क्रिएसन्सबाट स्टार म्यूजिक भिडियो अवार्डको साथमा विभिन्न सांगितिक कार्यक्रम गर्दै आएका थिए ।
त्यसैगरी संसार संगीतालयबाट साप्ताहिक रुपमै विभिन्न कलाकारहरुबाट सांगितिक प्रस्तुति दिँदै कार्यक्रम गर्दै आएका थिए भने संसार फाउन्डेसनबाट पनि विभिन्न सामाजिक गतिविधिहरु गर्दै आएका थिए ।
Categorized in पेजथ्री