arin enterprises

अमेरिकाका मनोहरले विश्वभरीका नेवाःको नेतृत्व गर्ने

SamacharDesk – बिराज | २०८२ श्रावण १५, बिहिबार

विश्वभरीका नेवाःहरुको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनमा अबको कार्यकालमा अमेरिकाका मनोहर श्रेष्ठले नेतृत्व गर्ने भएका छन् ।

अर्गनाइजेसनको चौथो अध्यक्षको रुपमा निर्विरोध निर्वाचित भएसँगै श्रेष्ठले अबको कार्यकाललाई नेतृत्व गर्ने भएका हुन् । यद्यपि नव निर्वाचित कार्य समितिको शपथ ग्रहण भने हुन बाँकि नै छ ।

यस अघि संगठनमा अध्यक्षको रुपमा नेतृत्व गर्दै आएका बेलायतमा बस्दै आएका संयुक्त श्रेष्ठले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर उनले आफ्नो दावेदारि फिर्ता लिएसँगै अमेरिकाका श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

‘सधैं मैले नेतृत्व गरिरहनुपर्छ भन्ने छैन नि । सुरुमा उम्मेदवारी दिएको थिएँ, पछि कुशल नेतृत्व देखिएपछि मैले उम्मेदवारी फिर्ता लिएँ’ संयुक्तले भने ।

अमेरिकाका श्रेष्ठ संगठनका चौथो अध्यक्ष भएका छन् । संगठनलाई स्थापना कालमा बालगोपाल श्रेष्ठले नेतृत्व गरेका थिए भने त्यसपछि दुई कार्यकाल सिजन श्रेष्ठले नेतृत्व गरे । वर्तमान समयमा भने संयुक्त संगठनका अध्यक्ष छन् ।

शशि महाजु, सिल्भिया राजोपाध्याय र राम श्रेष्ठ सम्मिलित निर्वाचन कमिटीले संगठनको निर्वाचन प्रकृया पूरा गर्दै नयाँ कार्य समिति चयन गरेका थिए ।

निर्विरोध नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अमेरिकाकै समीर महर्जन चयन भएका छन् । यस पदमा बेल्जियमका रजनी प्रधानले पनि उम्मेदवारी दिएकी थिइन् भने उनले पनि पछि आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् ।

चार जना उपाध्यक्षमा क्यानडाका विमल मान श्रेष्ठ, दुबईका बीरेन्द्र कुमार नकर्मी, अमेरिकाका समन्त श्री रत्न बज्राचार्य र नेपालका सुरेन्द्र भक्त श्रेष्ठ पनि निर्विरोध निर्वाचित भए ।

महासचिवको जिम्मेवारी नेपालकी लालिमा (लुमु) श्रेष्ठले पाएकि छन् भने कोषाध्यक्षमा दिपक डंगोल चयन भए । जन सम्पर्क अधिकृतको जिम्मेवारी अमेरिकाकै नरेशमान शाक्यलाई दिइएको छ ।

सदस्यहरुमा अनिल रंजित (अमेरिका), अन्जना ताम्राकार (नेपाल, दिपेश शाक्य (अमेरिका), कुमार नापित (जर्मनी), कुमार सिन्दुराकार (अमेरिका), संजय शाक्य (अमेरिका), शैलेन्द्र मानन्धर (अमेरिका) चयन भए ।  

Categorized in समाज