नेपाल सम्वत ११४६ आजबाट सुरु
SamacharDesk – बिराज | २०८२ कार्तिक ५, बुधबार

आज नेपालीहरुको दोश्रो महान चाड, तिहारको चौथो दिन । आजबाटै नेपाल सम्वतको नयाँ वर्ष ११४६ को सुरुवात पनि भएको छ ।
आज नेपाल सम्वत नयाँ वर्ष ११४६ को उत्सव काठमाडौं उपत्यकाको साथमा देशका विभिन्न भागमा विभिन्न कार्यक्रम गरी मनाइयो ।
देशको नामबाट नामकरण गरिएको विश्वको एउटै मात्र सम्वत नेपाल सम्वतको आज नयाँ वर्षको दिनलाई नेवार समुदायले विशेष उत्सवको रुपमा मनाउने गर्छन् ।
यसै क्रममा आज विहान वसन्तपुरबाट र्याली निकालिएको थियो । भने वसन्तपुरमै सभाको पनि आयोजना गरिएको थियो । त्यसैगरी पाटनमा पनि र्यालीको आयोजना गरीएको थियो ।
भक्तपुर, कीर्तिपुरको साथमा धुलिखेल, बनेपा, पनौती, दोलखा, सिन्धुपाल्चोक लगायतका विभिन्न स्थानमा पनि विभिन्न कार्यक्रम, र्यालीको आयोजना गरी नेपाल सम्वत नयाँ वर्ष ११४६ लाई स्वागत गरिएको छ ।
यो सम्वतसँग शंखधर साख्वाःले जनताको ऋण तिरी नयाँ युगको सुरुवात भएको प्रतिकको रुपमा नयाँ सम्वतको सुरुवात गरेको इतिहास जोडिएको छ ।
देशका गरीब जनताको ऋण तिरी देशकै नामबाट सम्वत सुरुवात गर्ने व्यक्तिको रुपमा शंखधरलाई २०५६ सालमा अर्थात नेपाल सम्वत ११२० कछलाथ्व पारुको दिनमा तत्कालीन कृष्णप्रसाद भट्टराईले राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
त्यस्तै विसं २०६५ सालमा अर्थात ११२९ कछलाथ्व पारुको दिनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतलाई राष्ट्रिय मान्यताको घोषणा गरेका थिए ।
त्यसपछि हरेक वर्षको नेपाल सम्वत नयाँ वर्षको दिनको सभामा प्रधानमन्त्रीले नेपाल सम्वतलाई सरकारी कामकाजमा पनि प्रयोग गर्ने प्रतिवद्धता जनाइरहेका छन् । तर यो प्रतिवद्धता आजसम्म पूर्ण कार्यान्वयनमा भने आउन सकेको छैन ।
नेवार समुदायमा लक्ष्मीपूजाको दिन साल तमाम भएको अर्थमा आफ्नो सम्पूर्ण गरगहना, चल अचल सम्पत्तिको कागजात आदि समेत राखेर लक्ष्मी पूजा गर्ने गरिन्छ । त्यसैगरी त्यसको भोलिपल्ट नयाँ वर्ष सुरुवात भएको अवसरमा म्हपूजा गर्ने गरिन्छ ।
Categorized in राष्ट्रिय