arin enterprises

२५० नयाँ संक्रमित थपिँदा एकैपल्ट १८७ जना संक्रमणमुक्त

SamacharDesk – विकाश | २०७७ जेठ २९, बिहिबार

नेपालमा थप २ सय ५० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

देशका विभिन्न १४ वटा प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ३० जना पुरुष र २० जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

आज थप भएको संख्यासँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ४ हजार ६ सय १४ पुगेको छ । तीमध्ये ४ हजार २ सय ८५ जना पुरुषहरु छन् भने ३ सय २९ जना महिला हुन् ।

प्रदेश नम्बर १ को १३ वटा जिल्लामा ३ सय ७ जना संक्रमित भइसके भने प्रदेश २ का ८ जिल्लामा  एक हजार ६ सय ७१ संक्रमित छन् ।

बागमति प्रदेशको १२ जिल्लामा एक सय ४७ जना संक्रमित हुँदा गण्डकी प्रदेशको ९ जिल्लामा संक्रमित संख्या एक सय ४७ जना छन् ।

त्यसैगरी प्रदेश ५ मा १२ वटा जिल्लाभरिमा एक हजार ३ सय ९९, कर्णाली प्रदेशमा ९ जिल्लामा ७ सय ५९ र सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा एक सय ९२ जना संक्रमित भइसके ।

संक्रमित जिल्ला संख्या आज पनि ७२ नै यथावत छ । 

कोरोना संक्रमण निको हुनेको संख्या भने ८ सय ६१ पुगेको छ । पछिल्लो पटक थप एक सय ८७ जना संक्रमणमुक्त भएर देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

देशभरमा अहिलेम्म पिसिआर विधिबाट १ लाख १५ हजार ९ सय ३० र आरडिटी विधिबाट १ लाख ७८ हजार १ सय ४३ वटा परिक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ५ हजार १ सय ९४ र आरडिटी विधिबाट ५ हजार २ सय ६३ वटा परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरमा क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६२ हजार १३ हुँदा आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ३ हजार ७ सय ३८ रहेको छ ।

Categorized in राष्ट्रिय