हरिको पूजा अर्चना गरी हरिबोधिनी एकादशी मनाईँदै
SamacharDesk – बिराज | २०८२ कार्तिक १५, शनिबार
आज कार्तिक शुक्ल एकादशी, आजको दिन हरिबोधिनी एकादशी मनाईँदैछ ।
चार महिना अघि अर्थात आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा शयन गर्नुभएको (सुत्नुभएका) भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ । सुतिरहेका हरि उठ्नुहुने दिन भएकोले नै आजको दिनलार्य हरिबोधिनी एकादशी भनिएको हो ।
हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ ।
हरिबोधनी एकादशी पर्वमा हिन्दू धर्मावलम्बीहरूले ब्रत बसी भगवान नारायणको पूजाअर्चना गरी मनाउँछन् ।
हरिबोधिनीमा उपवास बसिसक्नेले करिब १८ कोसको दुरीमा रहेको चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ ।
हरिबोधनीका दिन विशेषगरी सक्खरखण्ड, पिंडालु आदि कन्दमुल र फलफूल भगवान नारायणलाई चढाई ब्रतालुहरू प्रसादका रूपमा फलाहार गर्ने गर्छन् ।
आज काठमाडौं उपत्यकाका चार नारायण भक्तपुरको चाँगुनारायण, हलचोक इचंगुको इचंगु नारायण, फर्पिङको शेष नारायण, पाटन विशंखुको विशंखु नारायणमा मेला नै लाग्ने गर्दछ । साथमा बुढानीलकण्ठ, मत्स्य नारायणमा पनि विहानैदेखि भक्तजनको भीड नै लागेको छ ।
हरिबोधिनी एकादशीकै अवसरमा उपत्यकाका चार नारायणमध्ये जेठो भनिने चाँगुनारायण मन्दिर र परिसरलाई हिजो बेलुकीबाटै फुलमाला र झिलिमिलि बत्तीको साथमा सिँगारिएको छ ।

हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । आजको दिनमा गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन् ।
भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने बताइएको छ ।
कार्तिक शुक्ल एकादशीदेखि पूणिर्मासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ । भीष्मपञ्चक भरि भगवान् विष्णुको आराधना गर्नाले इच्छित फल पाइने धार्मिक विश्वास रहेको छ ।
चार महिना अघि हरिशयनी एकादशीको दिन घरघरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ ।
भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजनसँगै नवान्न (नयाँ अन्न) को हवन गरी चतुर्मास भरि विष्णु वा विष्णुप्रियाको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ ।
Categorized in संस्कृति




