नेपालले ढाकामा प्रस्तुत गर्यो ‘जीवनभर सम्झनलायक अनुभव’
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ कार्तिक १६, आइतबार
नेपालले बंगलादेशको ढाकामा सम्पन्न भएको तीनदिने १३औं बंगलादेश ट्राभल एण्ड टुरिज्म फेयर (बीटीटीएफ) मा जीवनभर सम्झनालायक अनुभव प्रस्तुत गरेको छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले नेपालका पर्यटकीय गन्त्वयबारे विस्तृत प्रस्तुती दिँदै नेपाल अनुभवमा आधारित जीवनभर सम्झनलायक गन्तव्य भएको जानकारि गराएका थिए ।
त्यसैगरी बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आफ्नो मन्तव्यमा नेपाल–बंगलादेशबीचका ऐतिहासिक, सांस्कृतिक र जन–जनबीचका सम्बन्ध भएको उल्लेख गर्दै पर्यटन आदान–प्रदानलाई अझ सुदृढ बनाउनुपर्ने उल्लेख गरे ।
टुर अपरेटर एसोसिएसन अफ बंगलादेश (टीओएबी) का अध्यक्ष एम.डी. रफेउज्जामान र निर्देशक एम.डी. तस्लिम अमिन (शोभन) ले नेपालबारे चर्चा गर्दै प्राकृतिक र साहसिक गन्तव्य भएको बताएका थिए ।
कार्यक्रममा ढाकामा रहेका नेपाली विद्यार्थीहरूले लोक–सांस्कृतिक प्रस्तुति गरेका थिए । यसले दुई मुलुकबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
औपचारिक कार्यक्रमपछि नेपाल र बंगलादेशका पर्यटन व्यवसायीबीच बीटुबी अन्तक्र्रिया तथा नेटवर्किङ्ग सत्रसमेत भएको थियो । कार्यक्रममा सय भन्दा बढी बंगलादेशी टुर अपरेटरहरू सहित दुवै देशका पर्यटन व्यवसायी र सरोकारवालाहरू सहभागी थिए ।
बंगलादेशको सबैभन्दा ठूलो पर्यटन प्लेटफर्म बीटीटीएफ अक्टोबर ३० देखि नोभेम्बर १ सम्म ढाकामा सम्पन्न भएको हो । जसमा नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाटा) सहित नेपालका १० पर्यटन व्यवसायिक कम्पनीहरूले सहभागिता जनाएका थिए ।
नेपाल पर्यटन बोर्डको नेतृत्वमा सहभागी टोलीमा १६ जना सदस्यहरू रहेका थिए, जसमा टुर अपरेटर, ट्राभल एजेन्सी तथा होटल प्रतिनिधिहरू समावेश थिए ।
टोलीले साहसिक पर्यटन, प्रकृति, संस्कृति र विशेष विषयका पर्यटन उत्पादनहरू प्रस्तुत गर्दै नेपाललाई बंगलादेशी यात्रुहरूका लागि छोटो दूरीमै पाउने अद्वितीय तथा अर्थपूर्ण गन्तव्यका रूपमा प्रवद्र्धन गरिएको छ ।
Categorized in बिजनेस




