arin enterprises

शिक्षक, प्राध्यापकलाई राजनीतिक गतिविधिमा नलाग्न मन्त्री पुनको आह्वान

SamacharDesk – बिराज | २०८२ कार्तिक २३, आइतबार

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न राजनीतिक दलका भातृ तथा शुभेच्छुक संस्थाका रुपमा बनाइएका शिक्षक, प्राध्यापक र कर्मचारीका विभिन्न संघसंगठनलाई मान्यता नदिने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आज एक पत्र जारी गर्दै यस्ता संगठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराए ।

यस किसिमका सेवामा कार्यरत कोही राजनीतिक गतिविधिमा संलग्न नहुन र संलग्न भएको पाइए पदबाट बर्खास्तसम्मको कानूनी कारवाही हुने मन्त्री पुनले भनेका छन् ।

कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन र राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिनेसम्मको कानुनी कारवाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउन चाहन्छु’ पत्रमा लेखिएको छ ।

सोही पत्रमार्फत मन्त्री पुनले शिक्षा क्षेत्रमा क्रियाशील संघसंगठनहरुलाई गैर राजनीतिक चरित्रको, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउनका लागि सोही बमोजिम कानुनी प्रबन्धसहित पुनर्गठन गर्न आह्वान गरेका छन् ।

आफ्नो पेशागत कर्तव्य, नैतिक दायित्व, आचरण, शिक्षा क्षेत्रको संवेदनशीलता र विद्यालय वा विश्वविद्यालय शान्ति क्षेत्रको मर्म विपरितका क्रियाकलाप गरेको पाइए कानुन बमोजिम कारवाही गर्न मन्त्रालयले कुनै कसर बाँकि नराख्ने कुरा समेत पत्रमा लेखिएको छ ।

Categorized in राष्ट्रिय