अमेरिकी वायुसेवा सेनाले पायो पहिलो अश्वेत प्रमुख
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ २९, बिहिबार

अमेरिकी वायु सेवाको ईतिहासमा पहिलो पटक अश्वेत नागरिक नेतृत्वमा आएको छ ।
अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायुसेवा सेनाको पदको लागि अश्वेत नागरिक जनरल चार्ल्स ब्राउन जुनियरको नामलाई अनुमोदन गरेको छ ।
सिनेटमा भएको मतदानको नतिजामा ब्राउनको पक्षमा ९८ तथा विपक्षमा शून्य मत परेको थियो ।
सिनेट बैठकको अध्यक्षता उपराष्ट्रपति माइक पेन्सले गरेको थियो ।
प्रहरी नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि अमेरिकी समाज र राजनीति क्षेत्रमा ठुलै तनावको अवस्था छ । उक्त तनावबीच सिनेटमा भएको सुनुवाइमा ब्राउनको पक्षमा सर्वसम्मति भएको हो ।
वैठकमा उपराष्ट्रपति पेन्सले ब्राउनको नियुक्ति ऐतिहासिक भएको बताए ।
ब्राउनले सन् १९८४ मा अमेरिकी वायु सेनामा अधिकृत तहमा भर्ना भएका थिए । उनले वायु सेनाभित्र विभिन्न पदमा रहेर सेवा गरेका छन् ।
त्यस्तै हालैका दिनहरुमा उनले अमेरिकी प्रशान्त वायु सेनाको कमान्डरका रुपमा सेवा गरीरहेका थिए ।
उनले एफ–१६ लडाकू बिमानको प्रशिक्षकका रुपमा पनि काम गरिसकेका छन् । ब्राउन स्वयम् लडाकू बिमानका पनि पाइलट पनि हुन् ।
उनले २ हजार ९ सय घण्टा सैनिक बिमान उडाएका छन् ।
शुक्रबार सामाजिक संजालमा एक भिडियो पोस्ट गर्दै उनले आफ्नो जीवनमा रंग विभेदको सामना गर्दै गोरा जातिको बाहुल्य समाजमा आफ्नो निम्ति स्थान बनाउन संघर्ष गरीरहेको बताएका छन् ।
सन् २०१९ को जनगणना अनुसार अमेरिकामा सेनातर्फ १७ प्रतिशत अफ्रिकी–अमेरिकी मूलका नागरिक कार्यरत छन् ।
Categorized in अन्तर्राष्ट्रिय