arin enterprises

चलचित्रकर्मिहरुलाई सांस्कृतिक रूपान्तरण पुरस्कार

SamacharDesk – विजयरत्न | २०८२ कार्तिक २५, मंगलबार

नेपाल सरकार चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएका १५ वरिष्ठ चलचित्रकर्मीहरुलाई सांस्कृतिक रुपान्तरण सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

बोर्डले संविधान दिवस २०८२ को अवसरमा तथा युवा कलाकार, निर्माताक्षेत्रका व्यक्तित्व र प्राविधिकलाईसम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाली चलचित्र क्षेत्रलाई देशको सांस्कृतिक शक्ति र अन्तर्राष्ट्रिय पहिचानको माध्यमका रूपमा प्रस्तुत गर्दै अघि बढ्न बोर्डलाई निर्देशन दिए ।

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले चलचित्र क्षेत्रलाई सुदृढ बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै, सुधार, सबलीकरण र अन्तर्राष्ट्रियकरणका योजनामा मन्त्रालय सदैव साथ रहने उल्लेख गरिन् ।

कार्यक्रममा सम्मानित १५ जना व्यक्तित्वलाई मन्त्री खरेल र सचिव अर्यालले रु. २० हजार राशीसहितको सम्मान प्रदान गरे ।

बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रमा देखिएको सकारात्मक ऊर्जा र सरकारी सहयोगले आगामी वर्षहरूमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कलाकार संघ, निर्माता संघ, प्राविधिक संघ, पत्रकार संघ, तालीम तथा केन्द्रीय छनौट समिति लगायतका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो ।

यसभन्दा पहिला बोर्डको तत्कालीन अध्यक्ष भुवन के.सी.को कार्यकालमा सुरुवात भएको यो पुरस्कार विगतमा असोज ३ गते संविधान दिवसको अवसर पारेर दिने गरिन्थ्यो । यो वर्ष भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको कारण त्यत्तिबेला स्थगित भएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरूः

शिव श्रेष्ठ (कलाकार)

सबिता गुरुङ (कलाकार)

तीर्थ थापा (निर्देशक)

यस कुमार (संगीतकार/गायक/निर्देशक)

ध्रुव लम्साल (चलचित्र पत्रकार)

रम्यता लिम्बू (चलचित्र महोत्सव व्यवस्थापक)

सम्झना रौनियार (निर्देशक)

युवराज लामा (निर्माता/निर्देशक)

हेमन्त बुढाथोकी (कलाकार)

किशन पोखरेल (निर्माता)

स्व. केशव भट्टराई (कलाकार – मरणोपरान्त)

नाजिर हुसेन (कलाकार)

रिमेश अधिकारी (निर्देशक)

रेनीश फागो (रंग संयोजक/प्राविधिक)

अन्जु पन्त (गायिका)

Categorized in पेजथ्री