arin enterprises

चलचित्र अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान

SamacharDesk – विजयरत्न | २०८२ मङ्सिर २, मंगलबार

चलचित्र अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान चलचित्र विकास बोर्डले वि.सं. २०८२ सालका लागि विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

यस वर्ष माध्यमिक तह (+२) मा चलचित्र विषय लिएका विद्यार्थीलाई वार्षिक रु १५,००० का दरले छात्रवृत्ति प्रदान गरिएको छ ।

विद्यालय तहमै फिल्म–सम्बन्धी अध्ययनलाई प्रोत्साहित गर्न बोर्डले विगत केही वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ । यस छात्रवृत्ति कार्यक्रमले युवाहरूलाई प्रारम्भिक उमेरमै चलचित्र शिक्षाप्रति आकर्षित गर्न मद्दत गरेको बोर्डको दावी छ ।

त्यस्तै, स्नातक तहमा चलचित्र–सम्बन्धी विषयमा अध्ययनरत विद्यार्थीहरूलाई वार्षिक रु ५० हजार को छात्रवृत्ति प्रदान गरिएको छ ।

खुला, महिला र समावेशी (मधेसी, दलित, आदिवासी, जनजाति) समूह समेटिने गरी वितरण गरिएको यो सहयोगले फिल्म शिक्षामा पहुँच विस्तार र विविध समुदायका प्रतिभालाई अघि बढाउने लक्ष्यलाई सुदृढ गरेको बोर्डले जनाएको छ ।

त्यसैगरी, स्नातकोत्तर तहमा चलचित्रसम्बन्धी अनुसन्धान गरिरहेका विद्यार्थीलाई रु २५ हजार का दरले शोध अनुदान प्रदान गरिएको छ ।

चलचित्रका सामाजिक, सांस्कृतिक, सौन्दर्यशास्त्रीय तथा नीतिगत पक्षमा आधारित अनुसन्धानलाई प्रोत्साहन दिन यसले महत्वपूर्ण उत्प्रेरणा दिएको बोर्डको भनाई रहेको छ ।

स्नातकोत्तर तहमै चलचित्र ऐन–नियम, नीतिगत अध्ययन तथा शोधपत्र लेखन गर्दै आएका विद्यार्थीलाई समेत रु २५ हजारको छात्रवृत्ति दिइएको छ ।

चलचित्र नीति तथा संरचनागत सुधारका लागि तयार हुने पेशेवर संसाधन निर्माणमा बोर्डको यो सहयोग भविष्यका फिल्म योजनाकार, विश्लेषक तथा नीति निर्माताका लागि आधार निर्माण गर्ने किसिमले उपयोगी हुने अपेक्षा गरिएको छ ।

चलचित्र विकास बोर्डका अनुसार, फिल्म उद्योगको दीगो विकास शिक्षा, अनुसन्धान र समावेशी प्रतिभा विकासमार्फतै सम्भव हुने भएकोले बोर्डले यसलाई दीर्घकालीन कार्यक्रमका रूपमा अघि बढाइरहेको छ ।

छात्रवृत्ति कार्यक्रमले नेपाली चलचित्र क्षेत्रका भावी पेशेवरलाई प्रेरित गर्ने, प्रतिभा भित्र्याउने र क्षेत्रलाई व्यवस्थित बनाउँदै लैजान सहयोग गर्ने बोर्डको विश्वास छ ।

फिल्म–सम्बन्धी विषयमा अध्ययन, अनुसन्धान तथा प्राज्ञिक प्रगतिको लागि नियमित रूपमा सञ्चालन गर्दै आएको यो कार्यक्रम बोर्डको शैक्षिक क्षेत्रप्रतिको प्रतिबद्धताको महत्वपूर्ण उदाहरणका रूपमा लिएको छ ।

Categorized in पेजथ्री