आइसिसी र बिसिसिआईबीच कर छुटको विषयमा विवाद
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ २९, बिहिबार

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसिसी) र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) बीच कर छुटको विषयमा विवाद चर्किएको छ ।
आइसिसीले बिसिसिआईलाई आगामी डिसेम्बरभित्र सन् २०२१ मा भारतमा आयोजना गरिने टी–२० विश्वकपको कर भारतीय सरकारबाट छुट गराउन समयसीमा दिएको छ ।
आइसिसीको बिहीबार बसेको बोर्ड बैठकले भारतीय सरकारबाट विश्वकपको कर छुट गराउने निर्णय गरेको हो ।
यसअघि समयमै कर छुटको विषय टुंगो नलगाएको भन्दै आइसिसीले सन् २०२१ मा भारतमा आयोजना गरिने टी–२० विश्वकप अन्तै सार्ने चेतावनी दिएको थियो ।
बिसिसिआईले कर छुट गर्ने विषयमा जुन ३० सम्म कुर्नका लागि आइसिसीलाई इमेल गरेको थियो । तर आइसिसीले बिसिसिआईको अनुरोधलाई अस्वीकार गरेको हो ।
सन् २०१६ मा भारतमा टी–२० विश्वकप आयोजना गरिँदा कर छुट गरिएको थिएन । यसको कारणले आइसिसीले २० देखि ३० लाख अमेरिकी डलरको हराहारीमा घाटा व्यहोर्नुपरेको अनुमान गरिएको थियो ।
त्यही समयदेखि आइसिसी र बिसिसिआईबीच कर छुटको विषयमा विवाद हुँदै आएको हो ।
त्यसैले सन् २०२१ को टी–२० विश्वकपको कर छुट नभए करोडौं डलर घाटा पर्ने अनुमान गर्दै आइसिसीले बिसिसिआईलाई दबाब दिएको हो ।
आइसीसीले जुन १८ भित्रमा सम्झौता भइसक्नु पर्ने ब्यहोराको पत्र समेत पठाएको छ ।
आइिससीको चेतावनीका बीच बिसिसिआईले कर छुटको बिषयमा चाँडै निष्कर्षमा पुग्ने विश्वास दिएको छ ।
Categorized in स्पाेर्ट्स