arin enterprises

आज जुन १२, बालश्रम विरुद्ध विश्व दिवस

SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ ३०, शुक्रबार

आज जुन १२, बालश्रम विरुद्ध विश्व दिवस । यो दिन विभिन्न कार्यक्रम गरी विश्वभरीमै बालश्रम विरुद्ध दिवस मनाइन्छ ।

बाल श्रमको बर्बर अभ्यासलाई उजागर गर्न प्रत्येक वर्ष यो दिनलाई बालश्रम विरुद्ध आवाज उठाउँदै मनाइँदै आएको हो । 

यस वर्ष, ‘कोभिड १९, प्रोटेक्ट चाइल्ड नाऊ, मोर डेन एभर’ नाराका साथ विश्वभरी मनाइँदैै छ ।

कोरोनाभाइरसको महामारी फैलिरहँदा औपचारीक कार्यक्रमहरुमा केही कमी आएतापनि यस दिनलाई अविस्मरणीय बनाउन विश्वका विभिन्न सञ्चारमाध्यमहरुले यस दिन बारे जानकारीमूलक छापा साथै श्रव्यदृश्य सामग्रीहरु भने सम्प्रेषण गरेका छन् ।

कन्सर्न नेपालका अध्यक्ष साथै बालअधिकारकर्मी विजय सैंजुका अनुसार नेपालमा १६ वर्ष मुनिका बालबालिकाको संख्या ४३ प्रतिशतको हाराहारीमा छ ।

संयुक्त राष्ट्र संघ बाल अधिकार महासंघको मापदण्ड अनुसार १८ वर्ष मुनिकालाई बालबालिका मान्ने हो भने यसको संख्या ४७ प्रतिशतसम्म रहेको सैंजुको भनाई हो ।

नेपालमा बालबालिकाको संख्या नै उच्च रहेको कारणले पनि यहाँ बालश्रमको दर उच्च देखिएको पाइन्छ ।

ईटाभट्टा, कलकारखाना, ढुङ्गाखानी, बालुवाखानी, सार्वजनिक सवारी साधन, कृषि, आदि जस्ता विभिन्न क्षेत्रमा वाध्यता वा करकापमै परेर पनि आफ्नो इच्छा विपरित बालबालिकाहरु खटिएका वा खटाइएको हुन्छन् ।

८० भन्दा बढि विभिन्न क्षेत्रमा १६ लाख भन्दा बढि बालबालिकाहरु श्रमिकको रुपमा काम गर्दै गरेको तथ्याङ्कले देखाउँछ ।

शरीरले ठेग्न नसक्ने खालका गार्हो कामहरुमा समेत बालबालिकाहरुलाई जबर्जस्ती खटाइएको हुन्छ । 

विशेष गरी आर्थिक रुपले विपिन्न परिवारका बालबालिकाहरु आफ्नो परिवारको छाक टार्न, घरको ऋण तिर्न आदिको लागि रहरले नभई बाध्यात्मक परिस्थितिले यस्ता पेशामा लाग्ने गर्छन् ।

२०५२ देखि २०६२ सम्म चलेको दश वर्षे लामो माओवादी जनयुद्धमा विद्यालयमा पढिरहेका बालबालिकालाई माओवादीको सेनामा भर्ती गराई युद्धमा समेत लगाइएको ईतिहास धेरै पुरानो हुन भ्याएको छैन ।

घरेलु श्रममा पनि धेरै बालबालिकाहरु मुछिएका छन् । आफ्नै वा अरु कसैको घरमा नोकर–चाकरी जीविकोपार्जन गरिरहेका गरी बालबालिकाहरु पनि ठुलो संख्यामा रहेका छन् ।

राष्ट्रिय तथ्याङ्क विभागले २०६८ मा नेपाल अधिराज्य भरका ९६ प्रतिशत बालबालिकाहरु विद्यालयमा पढ्न जाने गरेको तथ्याङ्क सार्वजनिक गरेको थियो । योसँगै विद्यालयबाट पढाई बीचमै छोडी भाग्नेहरुको पनि संख्या वृद्धि भइरहेको तथ्य पनि अध्ययनले उजागर गरिसकेको छ ।

बालश्रमको दर प्रत्येक वर्ष घटिरहेको तथ्याङ्क आई.एल.ओ.ले देखाएपनि नेपालमा अझै १६ लाख बालबालिकाहरु श्रमिकको रुपमा विभिन्न क्षेत्रमा कार्यरत छन् ।

त्यसमध्ये ६ लाख २१ हजार बालबालिकाहरु जोखिमयुक्त क्षेत्रमा कार्यरत रहेका छन् ।

विभिन्न क्षेत्रमा श्रमिकको रुपमा कार्यरत बालबालिकाहरु शारीरिक, मानसिक, सामाजिकको साथै लैङ्गिक यातना र हिंसाका सिकार हुने गरेको छ ।

केही संस्थाहरुले बालश्रमको न्यूनीकरणका लागि उल्लेखनीय योगदान पनि दिएका छन् भने कतिपय संस्थाहरु डलर मागि खाने भाँडो मात्र बनेका पनि छन् ।

शिक्षा, खेलकुद लगायत बालबालिकाको लागि विभिन्न आधारभूत आवश्यकता पुरा गर्नका लागि सरोकारवाला निकाय गम्भीर भएर लाग्नु आवश्यक छ भने समाजले पनि आआफ्नो तवरबाट यसमा योगदान दिन सके बालश्रम न्यूनीकरण गर्न सक्ने देखिन्छ ।

Categorized in राष्ट्रिय