सामाजिक सञ्जालमा अमर्यादित पोस्ट गर्ने प्रहरीहरू कारवाहीमा
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ पौष २४, बिहिबार
काठमाडौं । नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नीति विपरीतसामग्री पोष्ट गर्ने ५९९ जना प्रहरी कर्मचारीहरूलाई कारवाही गरिएको छ ।
आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटक लगायतका विभिन्न सामाजिक सञ्जालहरूमा संगठनविरूद्ध अमर्यादित टिप्पणी साथै प्रहरी पोषाकको दुरूपयोग गर्ने प्रहरी नायब महानिरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मलाई विभागीय कारवाही गरिएको हो ।
कारवाही पर्नेहरूमा प्रहरी नायब महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक एक एक जना, प्रहरी उपरीक्षक चार जना, प्रहरी नायब उपरीक्षक पाँच, प्रहरी निरीक्षक २४ र प्रहरी वरिष्ठ नायब निरीक्षक ११ जना रहेका छन् ।
साथमा प्रहरी नायब निरीक्षक २४, प्रहरी सहायक निरीक्षक ५१, प्रहरी वरिष्ठ हवल्दार ७, प्रहरी हवल्दार ३५, सहायक हवल्दार ७६, प्रहरी जवान ३५८ प्रहरी कार्यालय सहयोगी दुई जना रहेका छन् ।
उनीहरूलाई संगठनको नीति विपरीत कार्य गरेकोमा सख्त चेतावनी, नसिहतदेखि बढुवा रोक्कासम्मको कारवाही गरिएको छ ।
नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन मिति २०७१/०९/११ मा परिपत्र गरी सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्ने सम्बन्धी निर्देशन लागु गरेको छ ।
साथै नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ एवम् प्रहरी प्रधान कार्यालयबाट विभिन्न मितिमा गरिएका परिपत्रहरुमा समेत गरिएको छ ।
जस अन्तर्गत प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालमा गैरव्यावसायिक र अमर्यादित आचरण प्रदर्शन, हातहतियार, पोशाक, सवारी साधन लगायत प्रहरी गतिविधिका भिडियो, फोटो अपलोड गर्न, टिकाटिप्पणी गर्न बन्देज गरिएको छ ।
यसैगरी सामाजिक सञ्जालको प्रयोग गर्दा प्रहरी कर्मचारीहरूले गोपनियता, शान्ति सुरक्षा, धार्मिक तथा साम्प्रदायिक गतिविधि लगायतमा खलल पुग्ने जस्ता कुनै पनि सामग्री पोष्ट, शेयर, लाइक या टिप्पणी गर्न हुँदैन ।
पछिल्लो समय नेपाल प्रहरीको सामाजिक सञ्जालको प्रयोग सम्बन्धी नीति विपरीतका सामग्री हटाउन र कारवाहीको दायरामा ल्याउने कार्यलाई नेपाल प्रहरीले तीब्रता दिएको छ ।
Categorized in अपराध




