ताम्रकार समाजमा फेरी पनि बिनोदकै नेतृत्व
SamacharDesk – बिराज | २०८२ माघ १, बिहिबार
लिच्छवीकालिन इतिहास बोकेको ताम्रकार जातिका गहिरो अध्यायन अनुसन्धान हुनुपर्नेमा जोड दिइएको छ ।
ताम्रकार समाजको सत्ताइसौं सामूहिक भेला साथै एक्काइसौं साधारणसभाको अवसरमा नेपालभाषा एकेडेमिका चान्सलर मल्ल के सुन्दरले यस्तो जोड दिएका हुन् ।
लिच्छवी राजा अंशुवर्माको कैलाशकूट दरवारमा रहेको तामाको छाना लगायतका सामाग्रीहरुको निर्माण ताम्रकार वर्गले गरेको भन्ने शिलालेखहरुमा उल्लेख भएका कारण यसबारे थप खोजविन हुनुपर्ने मल्लको भनाई हो ।
चान्सलर मल्लले गौरवमय इतिहास बोकेको ताम्रकार वर्गले आफूसंग भएको मौलिक विशिष्ट शीपलाई उजागर गर्नसके नयाँपुस्ता लगायत अन्य जात जाती हरु समेत लाभान्वित हुनसक्ने बताउनु भयो ।
‘ताम्रकार वर्गले आफूले उत्पादन गर्ने मूल्यवान सामाग्रीहरुको उत्पादन प्रविधी, शैलीमा आफ्नै मौलिक ढङ्ग छ । यसलाई अन्तराष्ट्रीय स्तरमा समेत नक्कल गर्न नसकिने गरी पेटेन्टको अधिकार लिन सकेमा मौलिक स्थानीय सीपको संरक्षण समेत हुन्छ।’ मल्लको भनाई हो ।
कार्यक्रममा वार्षिक रुपमा प्रदान गरिँदै आएको रु पन्ध्र हजार राशीसहितको उग्रचण्डी प्रतिभा सम्मान यसवर्ष चित्रकला विधा एवं पुस्तक लेखिका कृषा ताम्रकारलाई प्रदान गरियो ।
साथै अठार जना जेष्ठ नागरिकहरुलाई सम्मानको साथै एस.इ.इ.देखी स्नातकोत्तर तह उतिर्ण गरेका समाजका करिव सय जना विद्यार्थीहरुलाई शैक्षिक सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा नेपालभाषा मंकाः खलः, यलका अध्यक्ष महेन्द्र महर्जन, यल नेवाः समाजका अध्यक्ष नानीकाजी शाक्यले पनि आआफ्ना विचार राखेका थिए ।
सभाले समाजको अध्यक्ष पदमा फेरी पनि विनोद ताम्रकारलाई नै निर्विरोध निर्वाचित गरेको छ ।
सदस्यहरुमा शम्भुगोविन्द ताम्रकार, दिपेश ताम्रकार, विमल ताम्रकार, बिजय ताम्रकार, मनोज ताम्रकार (नक्साल), प्रवल ताम्रकार, मिला ताम्रकार, मनोज ताम्रकार (हौगल), निता ताम्रकार, सजेश ताम्रकारलाई चयन गरेको छ ।
सदस्यहरुको पद विभाजन समाजको विधान बमोजिम कार्यसमितिको बैठकबाट गरिने अध्यक्ष विनोदले जानकारी दिए । निवर्तमान अध्यक्ष रविन्द्रराज ताम्रकार पदेन रुपमा कार्यसमितिमा रहनेछन् ।
Categorized in समाज




