arin enterprises

कामपा वडा २२ का पूर्वअध्यक्ष स्थापितको निधन

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ माघ २, शुक्रबार

काठमाडौँ महानगरपालिकाका वडा नं. २२ का पूर्वअध्यक्ष माणिकरत्न स्थापितको निधन भएको छ ।

८२ वर्षिय स्थापितको हृदयाघातका कारण बिहीबार राती निधन भएको हो ।

उहाँ उपचारका लागि आउँदो सोमबार भारत जाने तयारीमा हुनुहुन्थ्यो । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ । उहाँकी श्रीमती र एउटा छोरा संयुक्त राज्य अमेरिकामा हुनुहुन्छ ।

परिवारका सदस्यहरु नभए पनि आज टेकुस्थित जम्बुदीपमा अन्त्येष्टि गरिने निर्णय गरिएको वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए ।

पेशाले इञ्जिनियर स्थापित इञ्जिनियरिङ् पेशा छोडेर २०४४ सालमा पहिलो पटक जनपक्षीय उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा होमिएका थिए ।

उक्त चुनावमा पराजय भोग्नु परेपनि २०४६ सालमा प्रजातन्त्र पुनर्वहाली भएपछि २०४९ सालको स्थानीय निर्वाचनमा उहाँ नेकपा एमालेको उम्मेद्वारका रुपमा विजयी भएका थिए ।

उनी २०६० सालमा राजाको शासनकालमा पनि वडाध्यक्षमा मनोनीत भएका थिए ।

नेपालको संविधान जारी भएपछिको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा नेकपा माओवादी केन्द्रका तर्फबाट वडा २२ मा चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । त्यस समयमा उहाँ नेकपा एमालेका उम्मेदवार चिनीकाजी महर्जनसँग पराजित भएका थिए ।

त्यस यता उनी संकटा क्लवको सल्लाहकारलगायत स्थानीय क्लव तथा संघसंस्थामा आवद्ध भएर सामाजिक काममा सक्रिय थिए ।

Categorized in स्थानीय