arin enterprises

सोनाम ल्होछार एक महिना पछि, सार्वजनिक विदा आज

SamacharDesk – बिराज | २०८२ माघ ५, सोमबार

चद्रपात्रो परम्परा अनुसार मनाइने ल्होछार अर्थात नयाँ वर्ष यस पटक मलमासका कारण फागुन ६ गते पर्न गएको छ । यो वर्ष मञ्जुश्री पात्रो अनुसार २८६२ एक महिनापछि मात्रै सुरु हुँदैछ ।

तर सौर्य पात्रो अनुसारको विक्रम सम्वतको पात्रोमा आजै ल्हो फेर्ने उल्लेख भइ सार्वजानिक विदा समेत दिइएको छ ।

यस्तो अवस्थामा आज सामुहिक सांस्कृतिक कार्यक्रमहरु मात्रै हुने नेपाल तामाङ घेदुङले जनाएको छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हुन्छ । यो वर्ष सर्प वर्षलाई विदाइ गरी ता (घोडा) वर्षको स्वागत गरिँदैछ ।

आज सोनाम ल्होसारकै अवसरमा कार्यक्रमहरु आयोजना गरिएपनि घोडा वर्षको स्वागत गरी घरघरमा पुजापाठ भने फागुन ६ गते मात्रै हुने घेदुङका अध्यक्ष मोहन गोले तामाङले जानकारी दिए ।

नेपाल पन्चांग निर्णायक विकास समितिले सरोकारवालासंग छलफल नगरी चाडपर्व र विदा निर्धारण गरिँदा बेला बेलामा समस्या हुने गरेको अध्यक्ष गोेलेको भनाई छ ।

‘पन्चाङ्गलाई समावेसी बनाउन सरकारलाई हामीले पटक पटक आग्रह गर्यौं, गरीरहेका छौं तर सरोकारावासँग छलफल, सल्लाह लिने काम कहिल्यै भएन । एकपक्षीय ढङ्गले पंचाङ्ग निर्धारण गर्ने कामले समस्या आउने गरेको छ ।’ अध्यक्ष तामाङले बताए ।

नेपालका तामाङलगायत हिमाली समुदायले मनाउने यो ल्होछार नयाँ वर्षका रुपमा चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि एकैपटक मनाउने गरिन्छ । यी देशहरुमा पनि एक महिना पछि नै मनाईँदैछन् ।

एक महिना अगावै भएपनि सरकारले दिएको विदाको दिन आज काटमाठौंको टुँडिखेलसहित देशैभर ल्होछारका कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल तामाङ घेदुङको संयोकत्वमा रहेको ल्होछार मुल समारोह समितिले टुँडिखेलमा आज दिउँसो गर्ने सांस्कृतिक महोत्सवमा प्रधानमन्त्री शुशिला कार्कीको उपस्थिती रहने घेदुङका महासचिव जगतमान दोङले जानकारी दिएका छन् ।

कार्यक्रममा तामाङ मौलिक झाँकीहरु बोम्बो र ताम्बा स्याबा, गोडाचढिलगायतको प्रस्तुति रहनेछ ।

यस्तै तामाङ समुदायबाट विभिन्न विषयमा विद्यावारिधी गरेका, निजामति सेवा, खेल, पर्यटन, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा उच्च पदमा रही राष्ट्र सेवामा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिने महासचिव दोङले बताउनु भयो ।

Categorized in संस्कृति