‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ सार्वजनिक
SamacharDesk – विजयरत्न | २०८२ माघ ५, सोमबार
प्रा.डा.दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थ सार्वजनिक भएको छ ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले उक्त ग्रन्थको लोकार्पण गरे ।
वानीरा फाउन्डेसनद्वारा आयोजित समारोहमा डा.त्रिपाठीले ग्रन्थ लोकार्पण गर्दै नेपाली कथा साहित्यका आधिकारिक विशेषज्ञ प्रा.डा.दयाराम श्रेष्ठले सिद्धहस्त कथाकार इन्दिरा प्रसाईका कथाबारे समालोचना गरेर ठुलो न्याय भएको बताए ।
त्यस्तै लेखक प्रा.डा.दयाराम श्रेष्ठले भन्नुभयो इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्रको विवेचना र मीमांसा गरिएको यस कृतिमा आफुले कथासम्बन्धी आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गरेको बताए ।
‘यो मेरो प्रयोगात्मक अध्ययनको नमुना हो र यो मेरो अभियानको प्रथम कोसेली पनि हो ।’ डा. श्रेष्ठले भने ।
नइ एकेडेमीबाट प्रकाशित सो ग्रन्थबारे प्रसिद्ध समालोचक प्रा.केशव सुवेदीले यो ग्रन्थ नेपाली कथा समालोचना परम्पराको नव आयाम भएको र कथाका अध्येता अनुसन्धाताहरूका लागि यसले मार्गनिर्देशन गर्ने धारणा राखे ।
कथाकार इन्दिरा प्रसाईले उक्त ग्रन्थ आफ्नो लेखनयात्राको स्वर्णिम उपलब्धि भएको बताए ।
समारोहमा फाउन्डेसनका उपाध्यक्ष प्रा.डा.ऋषिराम शर्मा र सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट कृतिबारे प्रकाश पारिएको थियो ।
काठमाडौं महानगरपालिका ३१ वडाका अध्यक्ष तथा समाजसेवी सरोज ढकालले नेपाली साहित्यका विश्व नारी रत्न वानीराकै सम्मानमा काठमाडौं महानगरपालिकाले यस क्षेत्रलाई ‘वानीरामार्ग’ नामकरण गरिएको जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.डा.दयाराम श्रेष्ठ नेपाली कथा साहित्यका प्रथम विद्यावारिधि हुनुहुन्छ । श्रेष्ठले छत्तीस वर्ष प्राध्यापन गरेका छन् भने उनका तीस वटा कृति प्रकाशित भइसकेका छन् ।
Categorized in पेजथ्री




