भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ माघ २४, शनिबार
काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित आउटबाउन्ड ट्राभल मार्ट (इत्ः) मुम्बई २०२६ मा नेपालका विविध पर्यटन उत्पादनहरू प्रवर्ध्दन गरेको छ ।
फेब्रुअरी ५ देखि ७, २०२६ सम्म जियो वल्र्ड कन्भेन्सन सेन्टरमा सम्पन्न एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला ओटीएममा बोर्डले सहभागिता जनाउँदै पर्यटन उत्पादनहरु प्रवर्ध्दन गरेको हो ।
नेपाल पभिलियनमार्फत नेपालले ३४ प्रतिष्ठित नेपाली पर्यटन कम्पनीहरूको सहभागितामा लक्जरी रिसोर्ट, साहसिक पर्यटन, आध्यात्मिक गन्तव्य, वेलनेस, माईस तथा डेस्टिनेसन म्यानेजमेन्ट सेवासम्मका पर्यटन उत्पादहरु भारतीय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीसमक्ष प्रस्तुत गरेको थियो ।
तीन दशकभन्दा लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको यस मेलाले एशियाली पर्यटन प्रवृत्तिलाई दिशा दिँदै करोडौँ डलर बराबरका व्यावसायिक साझेदारी सम्भव बनाउँदै आएको छ ।
नेपालले विगत २५ वर्षभन्दा बढी समयदेखि ओटीएममा निरन्तर सहभागिता जनाउँदै आएको छ । नेपाल पभिलियन सांस्कृतिक मौलिकता, जीवन्त प्रस्तुति र प्रभावकारी गन्तव्य प्रवद्र्धनका कारण सधैँ भारतीय पर्यटन व्यवसायीहरूको आकर्षणको केन्द्र बन्दै आएको छ ।
विगतमा नेपाल पभिलियनले उत्कृष्ट गन्तव्य प्रदर्शनी तथा सांस्कृतिक प्रस्तुतीकरणका लागि विभिन्न पुरस्कारसमेत जितिसकेको छ ।
हालै सम्पन्न ‘जेन–जी आन्दोलन’ पश्चात् नेपालको पर्यटन क्षेत्रले उल्लेखनीय लचकता र पुनरुत्थान देखाएको बोर्डले जनाएको छ ।
‘जेनजी आन्दोलनले क्षति पु¥याए पनि हामीले निकै छोटो समयमा पुनर्रुत्थान गरिसकेका छौं । नेपाल सदाझैँ विश्वका पाहुनाहरूलाई न्यानो आतिथ्यका साथ स्वागत गर्न पूर्ण रूपमा तयार छ’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले भने ।
यस वर्षको ओटीएम सहभागितामा नेपालले विशेष गरी धार्मिक तथा तीर्थ पर्यटन, वीकएन्ड गेटवे, लक्जरी र वेलनेस, साहसिक पर्यटन, एमआईसीई, विवाह तथा हनिमुन गन्तव्यलाई भारतीय बजार लक्षित रणनीतिक प्राथमिकताका रूपमा प्रस्तुत गरेको थियो ।
पशुपतिनाथ, जनकपुर, मुक्तिनाथ, लुम्बिनी जस्ता पवित्र स्थलदेखि पोखरा, चितवन र हिमाली साहसिक गन्तव्यसम्म नेपालका विविध अनुभवहरूलाई प्रभावकारी रूपमा ब्रान्डिङ गरिएको थियो ।
मुम्बईमा आयोजित ओटीएम २०२६ मार्फत् भारतको मञ्चबाट नेपालले विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तोसमेत दिएको छ । नेपालले आगामी दिनमा पनि भारतलाई केन्द्रमा राख्दै गुणस्तरीय, दिगो र अनुभव–केन्द्रित पर्यटन विकासमा जोड दिने बोर्डले जनाएको छ ।
Categorized in बिजनेस




