टी–२० विश्वकपको १०औँ संस्करण आजबाट सुरु हुँदै
SamacharDesk – समाचारडेस्क स्पोर्ट्स ब्यूरो | २०८२ माघ २४, शनिबार
काठमाडौं । आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजबाट सुरु भएको छ ।
प्रतियोगीताको पहिलो खेलमा अहिले नेदरल्यान्ड्स र पाकिस्तानबीच खेल जारी छ । श्रीलंकाको कोलम्बोस्थित सिँहालेस रंगशालामा अहिले नेदरल्यान्ड्सले ब्याटिङ गर्दैछ । पाकिस्तानले टस जित्दै फिल्डिङ रोजेको हो ।
आजको दोस्रो खेल दिउँसो ३ः१५ बजे भारतको कोलकातास्थित इडेन गार्डेनमा वेस्ट इन्डिज र स्कटल्यान्ड बीच हुनेछ । आजै हुने तेस्रो खेलमा भारतले अमेरिकाविरुद्ध खेल्नेछ ।
मार्च ८ सम्म हुने प्रतियोगितामा सहभागी कुल २० टिमलाई प्रत्येक समूहमा पाँच टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ । ३० दिने प्रतियोगितामा कुल ५५ खेल हुनेछन् भने प्रतियोगिताको फाइनल खेल भारतको नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुनेछ ।
यस पटकको टी–२० विश्वकप विभिन्न वादविवादका कारण चर्चामा बनिरह्यो ।
बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा नखेल्ने अडान कसेपछि बंगलादेशको ठाउँमा स्कटल्यान्डले खेल्ने अवसर पाएको छ । त्यसैगरी पाकिस्तानले भारतसँग नखेल्ने जनाएपछि क्रिकेट फ्यानहरुले भारत र पाकिस्तान बीचको खेलको मज्जा लिन नपाउने भएको छ ।
समूह ‘ए’ मा अमेरिका, नेदरल्यान्ड्स र नामिबियाको साथमा भारत र पाकिस्तान पनि रहेको छ ।
टी–२० विश्वकपको सुरुवात सन् २००७ मा दक्षिण अफ्रिकाबाट भएको थियो । पहिलो संस्करणको उपाधी भारतले जितेको थियो ।
Categorized in स्पाेर्ट्स




