चलचित्रकर्मिहरुले सिक्न थाले घोडाचढीे
SamacharDesk – विजयरत्न | २०८२ माघ २९, बिहिबार
चलचित्र विकास बोर्डले एकहप्ते घोडचढी तालिम सुरु गरेको छ ।
‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२’ को अवसरमा बोेर्डले नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको सीप विकास गर्ने उद्देश्यले घोडचढी तालिम सुरु गरेको हो ।
ऐतिहासिक, पौराणिक, एक्शन र साहसिक चलचित्र निर्माणमा घोडचढीलाई अत्यावश्यक सीपका रूपमा लिइन्छ । यसै सन्दर्भमा कलाकार तथा स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित तथा व्यावसायिक बनाउने लक्ष्यसहित चलचित्र विकास बोर्डले यो तालिम सञ्चालन गरेको हो ।
तालिम कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित तथा अनुभवी कलाकारहरूको सहभागीतामा रहेको छ । तालिममा विजय बराल, नाजिर हुसेन, कविता नेपाली, विशाल पहाडी, एवन उप्रेती, दिनेश खड्का, सरिता भारती लगायतका कलाकारहरुको सहभागिता रहेको छ ।
साथै तालिममा अरुण बहादुर स्याङ्तान (लामा), श्रीदेव भट्टराई, गोपाल ढकाल (छन्दे) लगायत पर्दा अगाडिका विभिन्न चलचित्रकर्मीहरूको पनि सहभागीता छ ।
निकोसेरा, भक्तपुरस्थित रहेको ह्वाइट हाउस एग्रो भिल्लामा प्रशिक्षक सुरेश ठकुरी र ठकुरीको समूहबाट घोडचढी तालिम दिइदै आएको छ ।
तालिम अवधिभर सहभागीहरूलाई घोडासँगको तालमेल, व्यावहारिक अभ्यास, सुरक्षा मापदण्डसहित आवश्यक आधारभूत सीपसम्बन्धी प्रशिक्षण दिइने ठकुरीले बताए ।
बोर्डले यस किसिमका सीपमूलक तालिम कार्यक्रममार्फत नेपाली चलचित्र उद्योगको उत्पादन गुणस्तर अभिवृद्धि हुनुका साथै कलाकार तथा प्राविधिकहरूको सुरक्षा, व्यावसायिकता र आत्मनिर्भरता वृद्धि हुने विश्वास व्यक्त गरेको छ ।
साथै चलचित्र विकास बोर्डले अर्को हप्ता पर्दा अगाडिका कलाकारहरूलाई पौडी तालिम पनि सञ्चालन गर्न लागेको छ ।
Categorized in पेजथ्री




