चलचित्रकर्मी दक्षता अभिवृद्धिका लागि ध्वनि तालिम दिइने
SamacharDesk – विजयरत्न | २०८२ फाल्गुण २, शनिबार
चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०८२/०८३ लाई ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२’ का रूपमा मनाउँदै विभिन्न विशेष तालिम कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यसै क्रममा ध्वनी संयोजनकर्ताहरूका लागि अत्यन्त महत्वपूर्ण मानिएको “Spot Sync Sound Training” काठमाडौंमा आयोजना हुने भएको छ ।
यी सबै कार्यक्रमहरूले चलचित्रकर्मीहरूको प्राविधिक क्षमता, सिर्जनात्मक आत्मविश्वास र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत बोर्डद्वारा आयोजित उक्त तालिम अडियो भिडियो सोसाईटि अफ नेपाल (AVSN) को सहकार्यमा सञ्चालन हुनेछ ।
चलचित्र छायांकन स्थलमै उच्च गुणस्तरीय ध्वनि रेकर्डिङ, प्रोफेशनल अडियो व्यवस्थापन, उपकरणको वैज्ञानिक प्रयोग र लाइभ सिङ्क साउण्ड प्रविधि सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिइनेछ ।
यस तालिमले नेपाली चलचित्रको ध्वनि गुणस्तरमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास लिइएको छ ।
‘दक्षता अभिवृद्धि वर्ष–२०८२’ केवल औपचारिक घोषणा नभई, व्यवहारिक र परिणाममुखी कार्यक्रममार्फत उद्योगलाई मजबुत बनाउने अभियान भएको अध्यक्ष दिनेश डिसीले बताए ।
उनका अनुसार पर्दा पछाडि बसेर उत्कृष्ट चलचित्रको कृति सिर्जना गर्ने ध्वनी संयोजनकर्ताहरूलाई सशक्त बनाउनु नै यो तालिमको मूल उद्देश्य हो ।
फागुन दोस्रो सातादेखि काठमाडौंमा सञ्चालन हुने यस तालीममा सहभागिताको अवसर सबै इच्छुक चलचित्रकर्मी र प्राविधिकहरूलाई खुला गरिएको छ । आवेदन भर्न छुटेकाहरूलाई पनि सहभागी भई आफ्नो सीप निखार्न बोर्डले विशेष आग्रह गरेको छ ।
Categorized in पेजथ्री




