नेपालभाषाको पहिलो ओटीटी प्लेटफर्म ‘नेवाःफ्लिक्स’ सार्वजनिक
SamacharDesk – बिराज | २०८२ फाल्गुण १७, आइतबार
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसिले पुराना सेल्युलोइड नेपाली चलचित्रहरुलाई डिजिटाइज गर्ने काम बोर्डले अघि बढाएको बताएका छन् ।
शनिवार कीर्तिपुरमा आयोजित नेपालभाषाको ओटीटी प्लेटफर्म नेवाः फ्लिक्स घोषणा कार्यक्रममा बोर्डका अध्यक्ष डिसिले यस्तो भनेका हुन् ।
सो अवसरमा अध्यक्ष डिसिले पुराना चलचित्र डिजिटाइज गर्ने क्रममा नेपालको पहिलो मातृभाषी चलचित्र ‘सिलु’को साथै राजमति चलचित्रलाई पनि प्राथमिकतामा राखेको बताए ।
‘नेपालभाषामा बनेको चलचित्र ‘सिलु’ले नेपालको पहिलो मातृभाषी चलचित्रको रुपमा इतिहास बोकेको छ । सिलु चलचित्रको साथमा नेपालभाषाको दोश्रो सेल्युलोइड चलचित्र ‘राजमति’लाई डिजिटाइजको क्रममा प्राथमिकतामा राखेका छौं’ अध्यक्ष डिसिले भने ।
ईल्वहँ इन्टरटेनमेन्टको प्रस्तुतिको नेपालभाषाको पहिलो ओटीटी प्लेटफर्म ‘नेवाः फ्लिक्स’ शनिवार कीर्तिपुरमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा बोल्दै वरिष्ठ फोटो पत्रकार राजभाई सुवालले नेपाली चलचित्रहरु हलमा प्रदर्शन गर्न रिल बनाउनुपर्ने विगतलाई सम्झिँदै अब नेवाः फ्लिक्स आएसँगै नेपालभाषाका चलचित्रहरुको लाखौं रिल बनेको र संसारभर हरेकको हात हातमा पुगेको विचार राखे ।
नेपालभाषाको पहिलो ओटीटी प्लेटफर्म ईल्वहँ इन्टरटेनमेन्टले निर्माण गरी बजारमा ल्याएको हो ।
ईल्वहँ इन्टरटेनमेन्टका सिओओ दर्शनबीर शाक्यले करीब दुई वर्षको अथक मेहनत पछि नेवाः फ्लिक्स सार्वजनिक गर्न सफल भएको बताए । सिनेमा हल पुग्न नसक्ने दर्शकका लागि यो ओटीटी प्लेटफर्म उपयुक्त माध्यम हुने शाक्यले बताए ।
‘नेपालभाषाका चलचित्रहरुलाई हलमा प्रदर्शन गर्ने र हलमा गई हेर्ने वातावरण पनि बन्नुपर्छ । तर, भूगोल वा अन्य कुनै कारणले हलसम्म पुग्न नसक्ने संसारभरीका हरेक दर्शकको लागि यो उपयुक्त माध्यम बन्ने मेरो विश्वास छ’ शाक्यको भनाई हो ।
कीर्तिपुर सिनेप्लेक्सका संचालक नरेन्द्र महर्जनले नेपालभाषाको चलचित्र उत्थानमा आफु निरन्तर लागिरहने प्रतिवद्धता जनाउँदै नेपालभाषाका चलचित्र प्रदर्शनीमा केही समस्या परेमा सम्पर्क गर्न आह्वान गरे ।
ईल्वहँ पब्लिकेशनका प्रवन्ध निर्देशक नरेशबीर शाक्यले नरेशवीर शाक्यले पब्लिकेशनबाट विगत २६ वर्षदेखि निरन्तर रुपमा पेजथ्री पाक्षिक, ईल्वहँ मासिक लगायत विभिन्न पत्रिका निरन्तर प्रकाशन गरीरहेको र आधुनिक प्रविधिसँग अघि बढ्न ईल्वहँ इन्टरटेनमेन्ट संचालनमा आएको बताए ।
ईल्वहँ इन्टरटेनमेन्टकी संरक्षक प्रज्ञादेवी शाक्यले नेपालभाषाको चलचित्र, संस्कृति, सम्पदालाई डिजिटल माध्यमबाट संसारको कुनाकाप्चामा पुर्याउन नेवाः फ्लिक्स संचालनमा ल्याएको बताए ।
नेवाः फ्लिक्स संचालनमा आएको अवसरमा आइतवार ५ बजेसम्मका लागि यस भित्रका कुनै पनि सामग्री निःशुल्क हेर्न सकिने ईल्वहँ इन्टरटेनमेन्टले जनाएको छ ।
Categorized in पेजथ्री




