arin enterprises

नेपालले पनि कान्स फिल्म फेस्टिभलमा सहभागीता जनाउने

SamacharDesk – विजयरत्न | २०८२ फाल्गुण २६, मंगलबार

काठमाडौँ । विश्वकै प्रतिष्ठित फिल्म महोत्सवमध्ये एक ‘कान्स फिल्म फेस्टिभल’को ७९औँ संस्करणमा नेपालले पनि सहभागिता जनाउने भएको छ ।

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्ध्दन, सहकार्य विस्तार र विश्व बजारमा पहुँच विस्तार गर्ने उद्देश्यले चलचित्र विकास बोर्डले फ्रान्समा आयोजना हुने उक्त महोत्सवमा नेपालको प्रतिनिधित्व गर्ने तयारी गरेको हो ।

आगामी मे १२ देखि २३, २०२६ सम्म फ्रान्सको कान्स शहरमा उक्त चलचित्र महोत्सवको आयोजना हुन गइरहेको छ ।

यसपटक महोत्सवमा चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपालको विशेष ‘नेपाल पवेलियन’ (स्टल/बुथ) पनि रहनेछ ।

सो स्टलमार्फत नेपाली चलचित्र, फिल्म परियोजना, पोस्टर, ट्रेलर तथा अन्य प्रचार सामग्री अन्तर्राष्ट्रिय फिल्म बजारका वितरक, निर्माता, फिल्म फन्ड, फेस्टिभल प्रतिनिधि र दर्शकसमक्ष प्रस्तुत गरिनेछ ।

बोर्डका अनुसार कान्स फिल्म फेस्टिभलमा व्यक्तिगत रूपमा सहभागी हुने नेपाली चलचित्रकर्मीहरूले पनि बोर्डको स्टल साझा गरी आफ्नो फिल्म तथा परियोजनाहरू अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न सक्नेछन् ।

चलचित्र विकास बोर्डले यस पहललाई नेपाली फिल्म उद्योगलाई विश्व फिल्म मञ्चमा स्थापित गर्ने ऐतिहासिक अवसरका रूपमा लिएको जनाएको छ ।

कान्स महोत्सवमा सहभागी हुन इच्छुक नेपाली चलचित्रकर्मीहरूलाई बोर्डसँग समन्वय गरी आफ्नो सामग्री प्रदर्शन गर्न अनुरोध गरिएको छ ।

Categorized in पेजथ्री