arin enterprises

‘मोहनी लाग्ला है’ सम्झना दिलाउने ‘मोहनी लगाउने’ सार्वजनिक

SamacharDesk – विजयरत्न | २०८२ चैत्र १०, मंगलबार

नेपाली चलचित्र ‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक भएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्रीले अभिनय गरेका छन् । साथमा विपिन कार्की र मदनकृष्ण श्रेष्ठ लगायतलाई पनि यो गीतमा देख्न सकिन्छ ।

यस गीतले सुपर हिट चलचित्र ‘चिनो’ को निकै लोकप्रिय गीत ‘मोहनि लाग्ला है’ कै झल्को दिएको र पुनः त्यहि गीतको सम्झना गराएको दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।

पहाडको चलचित्रको यस गीतमा चलचित्र चिनोको साथमा पहाड चलचित्रका पनि निर्देशक तुलसी घिमिरेको शब्द रहेको छ । संगीत रञ्जित सिंह गजमेरले दिएका छन् भने भारती घिमिरे, साकार आप्टे, मदनकृष्ण श्रेष्ठ, अश्मिता अधिकारीको स्वर रहेको छ ।

गीतमा अभिनेता विपिन कार्कीको र्याप पनि सुन्न सकिन्छ । गीतमा कोरीयोग्राफी कविराज गहतराजले गरेका छन् ।

निर्देशक घिमिरेले फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको बताए ।

‘यस चलचित्रमा मनोरन्जनसँगै एउटा महत्वपूर्ण संदेश पनि छ । यो गीतले पनि त्यसमा केही सङ्केत गरेको छ’ निर्देशक घिमिरेले भने ।

गीत सार्वजनिक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले निर्देशक घिमिरेको निर्देशकीय यात्रा र उहाँको परिवाले नेपाली फिल्ममा दिनुभएको योगदानको चर्चा गरे ।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे चलचित्र आउँदो २०८३ वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शन हुने भएको छ ।

फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शक सामु ल्याएका छन् ।

Categorized in पेजथ्री