मदनकृष्णलाई ‘ललितरत्न’ उपाधिसहित नागरिक अभिनन्दन
SamacharDesk – विजयरत्न | २०८३ बैशाख ८, मंगलबार
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ललितरत्न उपाधीसहित नागरिक अभिनन्दन गरिएको छ ।
वरिष्ठ कलाकार श्रेष्ठकै जन्मदिनको अवसरमा सोमवार अक्षय तृतीयाको दिन ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले उनलाई सम्मान गरेको हो ।
पाटन दरवार क्षेत्रमा आयोजित नागरिक अभिनन्दन तथा सांस्कृतिक–सांगीतिक कार्यक्रममा श्रेष्ठलाई उक्त उपाधि प्रदान गरिएको हो ।
ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिका साथै विभिन्न २१ संस्थाले पनि श्रेष्ठलाई नागरिक अभिनन्दन गरेको हो ।
कार्यक्रममा परम्परागत धाःबाजाको गुञ्जनमा नेवार परम्परा अनुसार वरिष्ठ कलाकार श्रेष्ठलाई पाटन दरवार क्षेत्रमा स्वागत गरिएको थियो ।

परम्परागत धाःबाजा वादनबाट शुरु भएको सम्मान तथा सांस्कृतिक सांगीतिक कार्यक्रममा प्रसन्ना बज्राचार्य र प्रिजा शाक्यले आर्यतारा अमोघसिद्धी चर्यानृत्य प्रस्तुत गरेका थिए ।
कलाकार समितिका कोषाध्यक्ष सलोना बज्राचार्य, सदस्य रमा तुलाधर बज्राचार्यका साथै तेजशोभा बज्राचार्यले सगुन दिएका थिए भने यस अवधिमा समितिका सचिव अमोघवीर बज्राचार्यले स्वस्ति वाचन गरेका थिए ।
कार्यक्रममा वरिष्ठ कलाकार श्रेष्ठले ‘अरबौं मान्छेहरुमा’ ‘फुलबुट्टे साडी’, ‘खोलावारी खोलापारी’ गीत गाएर सुनाएका थिए ।
त्यस्तै गायिका सरीता महर्जनको साथमा नेपालभाषाको गीत ‘न्ह्यलय् छि हे ज्वलय् छि हे’ र निशा देसारको साथमा ‘मय्जु छ दः गुलि यः गुलि यः’ गीत पनि सुनाएका थिए ।
त्यसैगरी डिलाइट स्कुलका विद्यार्थीहरु नृत्य प्रस्तुत गरिएको थियो भने वाद्य शिरोमणी संगीत घरानाका बाल वाद्यवादकहरु भ्वाइलिन, भूपेन्द्र बज्राचार्यबाट गितार, यमन श्रेष्ठबाट किबोर्ड वादन गरिएको थियो ।
सो कार्यक्रम अघि रक्तदान कार्यक्रम पनि गरिएको थियो ।
Categorized in पेजथ्री




