arin enterprises

विशिष्ट चलचित्रकर्मि नीर शाहको कमब्याक फिल्म साउनमा आउने

SamacharDesk – विजयरत्न | २०८३ बैशाख १०, बिहिबार

विशिष्ट चलचित्रकर्मी कलाकार तथा निर्देशक नीर शाहको निर्देशनमा निर्माण भएको चलचित्र ‘कमला मिस’को प्रदर्शन मिति घोषणा भएको छ ।

बिहीबार वितरक कम्पनीहरूसँग सम्झौता गर्दै चलचित्रलाई आगामी साउन २२ गतेबाट प्रदर्शनमा ल्याउने तय गरिएको हो । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

मनोवैज्ञानिक कथावस्तुमा आधारित यस चलचित्रमा निर्देशक नीर शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको यस चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका छन् ।

चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

करिब एक दशकपछि निर्देशनमा फर्किएका निर शाह नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । उनले यसअघि वासुदेव, पच्चीस वसन्त, राजमती, बसन्ती, मसान, अकाल र सेतोबाघ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन् ।

Categorized in पेजथ्री