भाइरल बनेको भिडियो छाँटकाँट गरिएको सांसद पोखरेलको दाबी
SamacharDesk – बिराज | २०८३ बैशाख १२, शनिबार
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य विश्वराज पोखरेलले सामाजिक संजालमा भाइरल बनेको आफ्नो भिडियो छाँटकाँट गरी प्रस्तुत गरिएको दावी गरेका छन् ।
कोशी प्रदेश अन्तर्गतको खिजिदेम्बा गाउँपालिकाको रगनीस्थित श्री चण्डेश्वरी माध्यामिक विद्यालयमा पुग्दा स्वागत गर्न प्रधानाध्यापक गेटमा नआएको भन्दै पोखरेलले आक्रोश पोखेको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।
उक्त भिडियोको सन्दर्भमा सांसद पोखरेलले विज्ञप्ती जारी गरी यथार्थ परिस्थिती र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरु मात्र छाँटकाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको बताएका छन् ।
‘कहिलेकाहिँ सम्पूर्ण सन्दर्भ नआउँदा केही क्षणले मात्र परिस्थितीलाई गलत रुपमा चित्रण गर्न सक्छन् । त्यसरी तथ्य र सन्दर्भ अपूर्ण रुपमा प्रस्तुत भई विवाद सिर्जना भएकोमा म खेद प्रकट गर्दछु’ पोखरेलबाट जारी विज्ञप्तीमा लेखिएको छ ।
आफ्नो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्ने कुरा पोखरेलले स्वीकारेका छन् ।
सोही विज्ञप्तीमार्फत पोखरेलले आफ्नो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको अवस्थामा क्षमायाचना पनि गरेका छन् ।





