‘कमला मिस’ को फर्स्ट लुक सार्वजनिक
SamacharDesk – विजयरत्न | २०८३ जेठ ४, सोमबार
नेपाली चलचित्र क्षेत्रका वरिष्ठ निर्देशक नीर शाहबाट निर्देशित चलचित्र ‘कमला मिस’ को फर्स्ट लुक सार्वजनिक भएको छ ।
साउन २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो । पोस्टर सार्वजनिक पछि चलचित्रको अफिसियल टिजर यही बिहीबार सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ ।
मनोवैज्ञानिक कथामा आधारित ‘कमला मिस’मा निर्देशक निर शाह स्वयंको अभिनयसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, लगायत कलाकारहरूको अभिनय रहेको छ ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको विजय मल्लको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद निर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।
चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
वरिष्ठ निर्देशक शाह यस चलचित्रसँगै करिब एक दशकपछि निर्देशनमा फर्किएका हुन् । शाहले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’, ‘अकाल’ र ‘सेतोबाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन् ।
Categorized in पेजथ्री




