arin enterprises

नेपाली चलचित्र Elephants In The Fog कान्समा प्रिमियर

SamacharDesk – विजयरत्न | २०८३ जेठ ७, बिहिबार

हाल फ्रान्समा भइरहेको कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘इलिफेन्ट्स इन द फग’ को प्रिमियर भएको छ ।

विश्वमै प्रतिष्ठित फ्रान्समा हाल जरी कान्स फिल्म फेस्टिभलको ७९औं संस्करणमा निर्देशक अविनाश विक्रम शाहको यस फिल्मको प्रिमियर भएको हो ।

चलचित्र ‘इलिफेन्ट्स इन द फग’ फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधातर्फबाट छानिएको हो । यो फेस्टिभलको मुख्य प्रतिस्पर्धापछि प्रमुख मानिने विधामा पर्छ ।

यो विधामा यो फिल्म नेपालबाट छनोट हुने पहिलो फिल्म समेत हो । ‘अन सर्टेन रिगार्ड’ ले युवा निर्देशक र फरक कथा वाचकहरूलाई समेट्ने गर्दछ ।

यो फिल्म निर्माण अगावै यसको स्कृप्ट विश्वका बिभिन्न फेस्टिभलहरुबाट पुरस्कृत भइसकेको छ । निर्माण सुरु नहुँदै यो फिल्म यसअघि भेनिसको स्कृप्ट मार्केट र सनडान्सको स्क्रिप्ट ल्याबमा छनोट भइसकेको थियो ।

यता ‘सरफन्ड’ अर्थात् नर्वेजियन साउथ फिल्म फन्डबाट सन् २०२४ मा ६ लाख नर्वेजियन क्रोनर (झण्डै ७६ लाख रुपैयाँ) को सरफन्ड ग्रान्ट जितेको थियो ।

फिल्ममा आकांक्षा कार्की, पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरुङ, सञ्जय गुप्ता दुरा, महिमा नवबाग लगायत कलाकारले अभिनय गरेका छन् ।

फिल्म अण्डरग्राउन्ड टकिज नेपाल र जयन्ती क्रियसन्सको सहकार्यमा निर्माण भएको हो ।

यसअघि सन् २०२२ को ७५औं कान्समा अविनाशकै लघु फिल्म ‘लोरी’ छनोट भई स्पेसल मेन्सन अवार्ड समेत जितेको थियो ।

Categorized in पेजथ्री